अन्तिम परिक्षाको तयारी र त्यसको असर….

सुजन कडेल

अहिले विभिन्न तहको अन्तिम परीक्षा चलिरहेको छ भने कुनै तहको परीक्षा सुरु हुन गइरहेको छ। बिद्यार्थीहरु अन्तिम परिक्षाको तयारी धुमधामका साथ गरिरहेका छन् । वर्षभरि गरेको मेहनतले पूर्णरुप पाउने अवस्थामा परिक्षाको बारेमा विद्यालय, अभिभावक र बिद्यार्थीमा चिन्ता हुने स्वभाविकै हो। अझै देशभरका बिद्यार्थीहरुको एकसाथ सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि छिट्टै सुरु हुन गइरहेको अवस्थामा यस परिक्षाको चौतर्फि रुपमा चर्चा हुनुलाई सकारात्मक रुपमा हेर्न सकिन्छ ।

धेरै जसो बिद्यार्थीहरुमा परीक्षाको डर, त्रास र भय रहेको पाइन्छ। आफूले गरेको तयारी अनुसार परिक्षामा प्रस्तुत गर्न सकिने वा नसकिने दोधार बिद्यार्थीमा रहन्छ। आफूले आँकलन गरे अनुसारको प्रश्नपत्र नआउला कि भन्ने डरले समेत बिद्यार्थीहरु आक्रान्त बनेको पाइन्छ ।

अर्कोतर्फ निजि बिद्यालयमा ठुलो रकम खर्च गरि निजि तथा संस्थागत बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीहरुलाई पारिवारिक रुपमा अभिभावक मार्फत राम्रो नतिजा ल्याउन पर्ने दवावसमेत रहेको हुन्छ।

यसले बिद्यार्थीको मनोबल गिराउन तथा थप त्रास बढाउन भूमिका खेलेको हुन्छ जुन बिद्यार्थीको लागि हितकर हुँदैन ।

विद्यालय स्वयंसमेतले माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायत विद्यालयले सञ्चालन गर्ने परिक्षामा बिद्यार्थीहरुलाई उच्च अंक हासिल गराउन शैक्षिकसत्रको सुरुवातदेखिनै तयारी गराउने गरेको पाइन्छ । यस कुरामा अन्य तहको परीक्षा भन्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धेरै देखिन्छ ।

बिद्यार्थीको क्षमता अनुसार मात्र बिद्यालय तथा अभिभावकले अपेक्षा राख्नु पर्दछ। कुनै पनि महत्त्वपूर्ण परिक्षाको नतिजा प्राप्त भएपछिको अवस्थामा निराश नहुनका लागि बिद्यालयले राम्रोसँग पुर्वतयारी गर्नु पर्दछ।

नियमित कक्षाका अलवा अतिरिक्त कक्षाको सञ्चालन गराएका हुन्छन् जसले बिद्यार्थीमा थप बोझ र धेरै तनावको अवस्था सिर्जना गर्दछ। जस्तो अवस्थामा पनि बिद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षा पढ्न र पढाउनै पर्ने बाध्यात्मक अवस्था रहेको हुनाले यसमा बिद्यार्थी र अभिभावकको खासै भूमिका रहदैन ।

कुनै पनि तहको परिक्षालाई सिर्जनात्मक ढंगबाट सञ्चालन गरि बिद्यार्थीमा कम दबाब सिर्जना गर्दै उनीहरूलाई स्वतस्फूर्त रुपमा परीक्षा दिने वातावरणको सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यक हो।

बिद्यार्थीलाई सबै विषयमा उत्कृष्ट गर्नै पर्ने दबाब केही हदसम्म कम गर्नु पर्दछ। बिद्यार्थीले आफूलाई चिन्ने वातावरण बनाउनु पर्दछ।

कुनै अवस्थामा अभिभावकको चर्को अपेक्षा अनुसारको नतिजा ल्याउन नसक्दा अथवा सफल नहुँदा ज्यानै फाल्ने जस्ता नकारात्मक कार्य गर्न समेत प्रोत्साहित हुने गरेको पाइन्छ । जुन गलत हो। यस कुरालाई महत्त्वपूर्ण ध्यान दिनु आवश्यक छ।

बिद्यार्थीको क्षमता अनुसार मात्र बिद्यालय तथा अभिभावकले अपेक्षा राख्नु पर्दछ। कुनै पनि महत्त्वपूर्ण परिक्षाको नतिजा प्राप्त भएपछिको अवस्थामा निराश नहुनका लागि बिद्यालयले राम्रोसँग पुर्वतयारी गर्नु पर्दछ।

कक्षाकोठामा सम्पूर्ण बिद्यार्थी उत्तिकै र एकै क्षमताका हुन्छन भन्ने धारणा त्यागि सबैको सहअस्तित्व स्वीकार गरि सोहि अनुसारको अपेक्षा राख्नु पर्दछ।

बिद्यार्थीका अभिभावकका लागि आफ्नो सन्तानले राम्रो अंक अथवा ग्रेड ल्याउन भन्ने अपेक्षा रहनु स्वभाविकै हो तर हरेक बिद्यार्थीको हकमा त्यो लागू नहुन सक्छ। बिद्यार्थी सबैले एकै तहको स्तर कायम गर्छन भन्ने हुँदैन ।

परिक्षमा लेखिएको उत्तर र प्राप्त गरेको प्राप्तांकको आधारमा मात्र बिद्यार्थीको खुबी र क्षमताको पहिचान हुँदैन। परिक्षामा खराब गरेका बिद्यार्थी जीवनमा सफल र परिक्षामा राम्रो गरेको बिद्यार्थी जीवनमा असफल भएको उदाहरण हाम्रो समाजमा धेरैनै छन।

त्यसैले आफ्नो सन्तानको हर पक्षको जानकारी राखि सोही अनुसारको अपेक्षा राख्नका लागि अभिभावकहरुमा बिनम्र अनुरोध गर्दछु।

परीक्षा र नतिजाको विषयमा बिद्यार्थी स्वयं समेत सजग हुनु पर्दछ। आफूले प्राप्त गर्न सक्ने नतिजा र उपलब्धिको बारेमा पुर्वानुमान गर्न सक्नु पर्दछ। अत्यधिक उत्कृष्ट नतिजाको अपेक्षा राख्नु गलत हुने हुँदा त्यसले निराशा मात्र बढाउँछ र नराम्रो कदम चाल्ने संभावना बढी रहन्छ । यस कुरालाई ख्याल गरि आफूले प्राप्त गरेको नतिजालाई स्वतः स्वीकार गरि अझ अब्बल र दिगो बनाउन भूमिका खेल्नु पर्दछ।

बिद्यालय, अभिभावक र बिद्यार्थी गरि तीनै पक्षले सही र उचित ढंगबाट परीक्षाको तयारी गरि सकारात्मक नतिजाको अपेक्षा राखिनु पर्दछ। कुनैपनि बिद्यार्थीलाई बिद्यालयले राखेको आशा र परीक्षामा प्राप्त गरेको अंक र ग्रेडको आधारमा ब्यवहार गरिनु बिद्यालय तथा अभिभावकको गल्ती हुन जान्छ । त्यसैले समग्र हित सहि व्यवस्थापनका लागि हरेक बिद्यार्थीमा अलौकिक प्रतिभा लुकेर रहेको हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ।

संम्बन्धित समचार

Leave a Reply