चट्याङबाट कसरी बच्ने ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १०, शनिबार (१ साल अघि)
  • २६ पटक पढिएको
चट्याङबाट कसरी बच्ने ?

काठमाडौं ।  गर्मीको मौसम सुरू भएको छ। चैत-वैशाखको बेला मौसमी हिसाबले चट्याङ र हावाहुरीको समय हो । यो बेला प्रिमनसुनको सिजन हुने र प्रिमनसुनमा हावाहुरी र चट्याङ पर्ने सम्भावना बढि रहने गरेको मौसमविदहरु बताउँछन् । गर्मीको समयमा जमिन तात्दै जाने र त्यसले हावा वायुमण्डलमा सर्दै जाने प्रक्रियालाई न्यून चापीय क्षेत्र भनिन्छ ।

त्यो बढ्दा मौसममा प्रतिकूल भई हावाहुरी चल्ने, वर्षा हुने र चट्याङ पर्ने गर्छ । मनसुन पूर्वको यो समयमा सामान्य वर्षा भएपनि मौसममा खराबी आएपछि मेघगर्जनसहित हावाहुरी चल्ने गर्दछ । वर्षायाममा चट्याङका कारण जनधनको क्षति न्यूनीकरणका गर्न गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सचेतना अभियान थालेको छ । मन्त्रालयले चट्याङले लिन्छ ज्यान भन्दै त्यसबाट हुने क्षति न्यूनीकरणका उपायहरू सुझाएको छ । मन्त्रालयले गड्याङगुडुङ सुनेपछि सबैलाई सचेत रहन आग्रह गरेको छ ।

चट्याङ के हो ? कसरी पर्छ ?

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो ।

साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ । आवाजविनाको चट्याङलाई “उष्ण बिजुली” भनिन्छ । सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । यसको पूर्वानुमान लगाउन सकिँदैन । यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ । त्यसैले चट्याङ परेका बेला अपनाउनुपर्ने र त्यसका लागि पूर्वतयारी गरेमा यसबाट हुने क्षतिको जोखिम कम गर्न सकिन्छ ।

सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहको तापक्रम बढ्छ । सो तापक्रमले पृथ्वीको सतहमा रहेको जलाशयका स्रोतहरू जस्तै– ताल, तलाउ, नदी, सागर, महासागरबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उड्दै जान्छ । यसरी जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिन्छ । बादल हावाको माध्यमबाट गतिमान हुन्छ ।

यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् । ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा बसेका हुन्छन् । जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई क्युमलोनिम्बस भनिन्छ । धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल पनि भनिन्छ । जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ ।

यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिना आदि रहेका हुन्छन् । जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो–छिटो हिँड्छन् । जसको कारण बादलभित्र हुरीबतास तलमाथि चल्छ ।

यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन् । सुरुसुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किने गर्दछ ।

यस्तो चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि–नोक्सानी हुँदैन बादलभित्र भएका हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छन् । फलस्वरूप पृथ्वीको सतहमा आँधिबेहरी चल्न थाल्छ । घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन् । यसरी आकाशमा भएको बादलका चार्जहरू र पृथ्वीमा भएको विपरीत चार्जहरूमा विभिन्न प्रतिक्रिया हुन्छन् । आकाशमा एक बिजुली चम्किने बेलामा पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिक मात्रामा बढ्ने गर्दछ ।

यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने र सो तापक्रम लगभग ३० हजार डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिक अध्ययन–अनुसन्धानले देखाएको छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासि वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ । त्यसैकारणले चट्याङ पर्ने र मेघ गर्जन हुने घटना एकैसाथ हुने गर्छ ।

जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको डर बढ्दै जान्छ र चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुन्छ । त्यससँगै विस्तारै पानी पनि पर्न थालेमा बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलमा भएका चार्जहरू पनि बहन्छन् र विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर बग्दछ ।

आधा घण्टाअघि मात्रै पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार चट्याङको पूर्वानुमान समय आधा घण्टा मात्र हो। छोटो समयमा पूर्वानुमान गर्नुपर्दा अप्ठेरो हुन्छ । बिजुली चम्केपछि मात्र जानकारी दिन सकिन्छ।

जसले बृहत् सूचना प्रसारण गर्न समय नहुने मौसमविद् श्रेष्ठ बताउँछन्। उनका अनुसार प्राप्त समयमा जानकारी दिन लाइटिङ डिटेक्टिङ सिस्टम देशैभरि स्थापना गरिएको छ । जसले नेपालको कुनै पनि ठाउँमा बिजुली चम्केको वा चट्याङ परेको तत्कालै थाहा पाउँछ।

कसरी जोगिने ?

विद्युत्का पूर्ण सुचालक र अर्ध सुचालक वस्तु चट्याङका मुख्य आकर्षण हुन्। धातु, हरियो रूख पूर्ण सुचालक हुन्। मानिस भने अर्ध सुचालक हो।

त्यसैले मानिस रूख, धातुका अग्ला टावर र घर जस्ता विद्युतीय सुचालकको नजिक नबस्न मौसमविद् मीनकुमार अर्यालको सुझाव छ। विद्युत् प्रवाह बन्द गर्नुपर्छ । गाडीमा सवार छन् भने गाडीभित्रै सुरक्षित हुन्छ।

घरमा अर्थिङ अर्थात् लाइटनिङ रड राखेर सुरक्षित रहन सकिन्छ । सकभर त्यस्तो बेलामा घरबाहिर ननिस्कने र घर भित्रैका बिजुलीका सुचालक वस्तु बन्द गर्न महाशाखाले सुझाएको छ।

अन्य सावधानीमा पहाडी भेगमा रहँदा सतर्क रहने, घर बाहिर भए दुई कुहिनाले टाउको छोपेर टुक्रुक्क बस्नुपर्छ। मानिसको टाउको र खुट्टाबाट चट्याङको बिजुली पार हुनेगर्छ। चट्याङ लागेमा तत्काल चिकित्सक बोलाएर उपचार गर्नुपर्छ।

घर बाहिर हुँदा के नगर्ने ?

अग्लो र एक्लो रुखमा ओत नलाग्ने

पौडिने, माछा मार्ने तथा र्‍याफ्टिङजस्ता क्रियाकलाप नगर्ने

खुल्ला मैदानमा नरहने

धातुको तारबार नजिक नबस्ने

मैदानमा लमतन्न परेर नसुत्ने वा नबस्ने

घरभित्र हुँदा के नगर्ने ?

विद्युतीय सामग्रीहरू जस्तै टीभी, कम्प्यूटर, फ्रिज, वासिङ मेसिन प्रयोग नगर्ने

तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्ने

घरबाट बाहिर ननिस्किने

धारामा नुहाउने, लुगा धुने र भाँडा माझ्ने काम नगर्ने

विद्युतीय सामग्रीहरू जस्तै टीभी, कम्प्यूटर आदिको नजिक नबस्ने

ताजा अपडेट

खोजी गर्नुहोस