बिहे गरेको चार महिनामै २१ वर्षीया पत्नीको हत्या, युवक पक्राउ

चैत्र १३, काठमाण्डौँ । बाँकेको कोहलपुरमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरा गरी बस्दै आएका २२ वर्षीय अनिल बिक पत्नी हत्याको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बर्दियाको बाँसगढी– ४ घर भइ हाल कोहलपुर– १४ मा बस्दै आएका बिकले गए राति १० बजे २१ वषीया श्रीमती सुशीला सुनारको हत्या गरेका जिप्रका बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए । ‘घरायसी विवादमा उनले पत्नीको हत्या गरेको देखिन्छ,’ डीएसपी डाँगीले भने, ‘हामी घटनाको थप अनुसन्धानकै क्रममा छौँ ।’

उनीहरुको चार महिनाअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ । सुनारको माइत जाजरकोट हो । ‘डेरामा उनीहरु दुई जना मात्रै बस्दा रहेछन्,’ डाँगीले भने, ‘राति पत्नीसँग झगडा हुँदा अनिलले धारिलो हतियारले ढाडमा प्रहार गरेछन् । गम्भीर अवस्थाकी पत्नीलाई उनैले उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्‍याएको पाइएको छ । अस्पतालमा उपचारको क्रममा सुशीलाको मृत्यु भएको हो ।’

अनिल कोहलपुर– १४ पार्वतिपुरस्थित ह्युमपाइप फ्याक्ट्रीमा काम गर्ने मजदुर हुन् । प्रहरीले अनिललाई अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । उनीहरुको डेराबाट प्रहरीले रगत लागेको धारिलो हतियार पनि बरामद गरिएको जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply