सर्वोच्चको आठ बुँदे आदेश : पशुपति क्षेत्रमा गाडी चल्न नदिने देखी शव गाड्ने वैकल्पिक ठाउँ खोजिने

चैत्र १६, काठमाडौँ । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि सवारी साधन गुड्ने सबै बाटो बन्द गर्न आदेश दिएको छ । गत माघ ७ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले दिएको आदेशको हालै सार्वजनिक पूर्णपाठमा उक्त कुरा उल्लेख छ ।

हेर्नुस् आठ बुँदे निर्देशनात्मक आदेश
१. पाशुपत क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्ने गरी तिलगंगा गोठाटार ताम्रगंगा जाने भनिएको बाटोलगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमा समेत इन्जिनबाट चल्ने कुनै पनि प्रकारको सवारीसाधन सञ्चालन हुन सक्ने गरी बाटो निर्माण नगर्नू। उल्लिखित स्थानमा बनाइसकेको खोलिसकिएको मोटर बाटो तत्काल बन्द गर्नू र अब उप्रान्त सो स्थानमा इन्जिनबाट चल्ने कुनै पनि यातायातका साधन सञ्चालन हुन नदिनू, नदिलाउनू भनी सबै प्रत्यर्थीहरूका नाममा प्रतिषेधमिश्रित परमादेश जारी हुने ठहर्छ ।

२. पाशुपत क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र श्रद्धालु तीर्थयात्री वा पर्यटकको आवतजावतका लागि ट्रयाक पैदल मार्ग निर्माण गर्नू, यसरी बनाइएको पैदल मार्गमा हिँड्नबाहेक वनबाटिका क्षेत्रभित्र यात्रुजनको प्रवेश हुन नपाउने गरी घेरबेरको व्यवस्था मिलाउनू भनी प्रत्यर्थीहरूका नाममा परमादेश जारी हुने ठहर्छ ।

३. पाशुपत क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वनलगायतका स्थानमा खाली रहेको, वन नासिए–मासिएको स्थानमा सघन रुपमा वृक्षारोपण गरी हरियाली कायम राख्नू, उल्लिखित क्षेत्रमा रहेका रुख विरुवा काट्न, मास्न नदिनू, वनक्षेत्रको पूर्ण संरक्षण गर्नू गराउनू भनी सबै प्रत्यर्थीहरूका नाममा परमादेश जारी हुने ठहर्छ ।

४. लाश गाड्ने वैकल्पिक उपयुक्त स्थानको पहिचान गरी यो आदेशको जानकारी पाएका मितिले बढीमा एक वर्षभित्र लाश गाड्नेसम्बन्धी स्थान सुनिश्चित र रि– लोकेट गर्नू। उल्लिखित एक वर्षपछिदेखि श्लेषमान्तक वन क्षेत्रमा लाश गाड्न, फाल्न नपाउने व्यवस्था मिलाउनू।पाशुपत क्षेत्रभित्र कुनै पनि प्रकारको फोहोरमैला जम्मा हुन नदिई तत्काल सफाइ गर्ने भरपर्दो व्यवस्था मिलाउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेश जारी हुने ठहर्छ ।

५. मृगस्थली, श्लेषमान्तक वन क्षेत्रमा भू–स्खलनलाई रोक्न आवश्यक भू–संरक्षणको व्यवस्था तत्काल मिलाउनू भनी प्रत्यर्थीहरूका नाममा परमादेश जारी हुने ठहर्छ ।

६. पाशुपत क्षेत्रभित्रका कुनै भौतिक संरचनाको मर्मत सुधार गर्दा वा पुनःनिर्माण गर्दा यसको मौलिक स्वरुप कायम रहने र प्राचीन सम्पदाको अधिकतम् संरक्षण हुने अवस्था सुनिश्चित गर्नू। यसरी पाशुपत क्षेत्रभित्र रहेका भौतिक संरचनाको मर्मत, सुधार वा नयाँ निर्माण गर्दा पुरातत्व विभागको औपचारिकरलिखित राय÷परामर्श वा सहमति लिएर मात्र निर्माण, सुधारको कार्य गर्ने गर्नू भनी प्रत्यर्थीमध्येको पशुपति क्षेत्र विकास कोष र पुरातत्व विभागका नाममा परमादेश जारी हुने ठहर्छ ।

७. पाशुपत क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यावरणीय मौलिकता नासिने मासिने गरी भौतिक संरचना निर्माण नगर्नू, नगराउनु। सतविज छर्नेलगायत विषयमा परम्परादेखि चलिआएको संस्कारमा प्रतिकूल असर पर्ने गरी जमिनमा कंक्रिट ढलान जस्ता कार्य नगर्नू नगराउनू । प्राकृतिकस्वरुप र सम्पदाको पुनःस्थापना र संरक्षण गर्नू गराउनू भनी प्रत्यर्थीहरूका नाममा प्रतिषेधमिश्रित परमादेश जारी हुने ठहर्छ ।

८. आराध्यदेव भगवान् श्री पशुपतिनाथको सम्पत्ति, गुठी जग्गा, अन्य आम्दानी र खर्चको हर–हिसाब, चुस्त दुरुस्त र पारदर्शी रुपमा कायम राख्नू र ती सम्पत्तिको सुरक्षा र संरक्षणका लागि उचित व्यवस्थापन मिलाउनु भनी प्रत्यार्थीहरूका नाउमा परमादेश जारी हुने ठहर्छ ।

संम्बन्धित समचार

Leave a Reply