फागुन १६,हेटौँडा । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले प्रदेश ३ को राजधानी हेटौँडामा पनि शोक छाएको छ ।
मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रलाई अपूरणीय क्षति भएको बताएका छन । मुख्यमन्त्री पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका अधिकारीको निधनले राष्ट्र र पार्टीले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै गहिरो शोक व्यक्त गरेका हुन। “सङ्गठनका अत्यन्त जुझारु कर्मशील योद्धा रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको कुरा विश्वास नै गर्न गाह्रो भयो । दुर्घटनाबाट राष्ट्र र पार्टीले ठूलो क्षति व्यहोेर्नुपरेको छ । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।”
यसैगरी प्रदेश ३ सरकारको आकस्मिक मन्त्रिपरिषद्को बैठकले शोक प्रस्ताव पारित गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो । आजै प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले मन्त्री अधिकारी तथा दुर्घटनामा मृत्यु भएका सम्पूर्णप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकको परिवार प्रति समवेदना व्यक्त गरेको छ ।
बैठकपछि शोक वक्तव्य प्रकाशित गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाथिभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा मन्त्री तथा अन्य व्यक्तित्वको हेलिकप्टर दुर्घटनामा परी निधन भएको खबरले प्रदेश सरकार स्तब्ध भएको उल्लेख गर्दै सम्पूर्ण मृतकको आत्माको चिरशान्तिको कामना गरेको छ ।