जिन्दगी कै हैन

जिन्दगी कै हैन लाग्छ त्यो बेला
जुनबेला,
पशुपतिको आर्यघाट अघि पुगिन्छ
देखिन्छ अनि जल्दैगरेका शरिरहरु
जब देखिन्छ अस्पतालका शैय्याहरुमा
मृत्यु कुरिरहेका बिरामीहरु
जब गइन्छ मलामी र अन्तिम मट्टी दिइन्छ
आफ्नै केही मनभित्रको मान्छेको
तब लाग्छ-
जिन्दगी कै हैन
अब दौडनु छोड्नुपर्छ ।

अनि,
माया लाग्न थाल्छ
सबै सबैको
बेसाहरा अनि भोकाहरुको
बिरामी अनि असक्ताहरुको
फूल अनि बोटविरुवाहरुको
पर डाँडामा अस्ताउँदै गरेका घामको
‍औंसीले दिनदिनै खाँदै गरेको जूनको
सकसले दिन कट्दा पनि
फटक्क उफ्रेर माथि जाँदै गरेको मेरो उमेरको
घर मुनी च्यानडाँडाको चेप्लेटी ढुङ्गाको
अनि तेही छेउको माटोको
जुन म मर्दा सबै मलामीले अन्तिम मट्टी दिन्छन् ।

आफुले खाको र लाको त हो मान्छे ले लाने
अरु त मरेर जाँदा केही लगिन्न
तब त लाग्छ-
जिन्दगी कै हैन
अब दौडनु छोड्नुपर्छ ।

-सुवास राई, रोङ-४, इलाम

संम्बन्धित समचार

Leave a Comment