पूर्वाञ्चल विश्वविद्यालयमा अर्को रहस्य : नक्कली विद्यार्थीलाई इन्जिनियरिङमा स्नातक उत्तीर्णको प्रमाणीकरण

Post Thumbnail

फागुन १६,काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्ट्रार प्रमिला थापाले एक नक्कली विद्यार्थीलाई इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेको भनेर प्रमाणीकरण पत्र दिएको खुलेको छ । तिलाहुन आगुने मुलुसेवा नामका विद्यार्थीले एक्मी इन्जिनियरिङ कलेज काठमाडौंबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियरिङमा २००८ मा स्नातक तह उत्तीर्ण गरेको भन्दै इमेल गरेको विषयमा उठेको प्रश्नको जवाफ नदिएपछि उनी विवादमा तानिएकी हुन् ।

भारत गाजियावादको एक रोजगार कम्पनीले सोधपुछ गरेपछि एम्मी कलेजले आफ्नो अभिलेखमा तिलाहुन आगुने मुलुसेवाले कलेजमा भर्ना भएको नदेखिएको जानकारी दिएको थियो ।

एम्मी कलेजको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियरिङका प्रमुख शरद पौडेलले संगीता राउतको नामबाट इमेल आएपछि आफूले त्यस्तो नाम गरेको विद्यार्थी कलेजमा अध्ययन नगरेको भन्दै प्रतिउत्तर दिएसँगै पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्ट्रार थापाको बदनियत खुल्न पुगेको हो ।

स्रोतका अनुसार परीक्षा व्यवस्थापन कार्यालयमा पनि त्यही व्यहोराको पत्र आएको र सोको अभिलेख नपाइएपछि सत्यतथ्य जानकारी दिन परीक्षा नियन्त्रक डा. सूर्य संग्रौलाले रजिष्ट्रारलाई पठाइएको पत्र नबुझेपछि विवाद चुलिएको हो । विश्वविद्यालयको इन्जिनियरिङ संकायमा प्रमाणपत्रका लागि ठूलै आर्थिक चलखेल हुने गरेको स्रोत बताउँछ । तर यो मामिलामा उपकुलपति प्राडा घनश्यामलाल दास मौन बसेपछि उक्त घटनाथप शंकास्पद बनेको छ ।

दुई वर्षअघि काठमाडौंको विश्वविद्यालयबाट सम्बन्धन लिएको एक कलेजमा इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीले परीक्षामा उत्तरपुस्तिका खाली छोडेपनि पछि उत्तीर्ण भएको भन्दै दिएको प्रमाणपत्र विवादमा आएको थियो । सोको बारेमा छानबिन समिति गठन भएपनि यथार्थ बाहिर आउन सकेको छैन । अर्कोतर्फ विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक अख्तियारको घुसकाण्डमा मुछिएको विषयमा विश्वविद्यालयमा उनीविरुद्ध तत्काल कारबाहीको माग गरेपनि उपकुलपतिले बेवास्ता गरेको प्राध्यापकका संघले गुनासो गरेको छ ।

विज्ञप्ति नै निकालेर डिन पाठकलाई कारबाही गर्न माग गरेको प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति यज्ञ जम्मरकट्टेलले बताए । डिन पाठकले इञ्जिनियरिङतर्फ आर्थिक चलखेल गरी उठेको रकम पदाधिकारी तथा शक्तिकेन्द्रसम्म पु(याउने गरेको आरोप लाग्दै आएको छ । डिन पाठकलाई कारबाही गर्दा आफूलाई समेत मुछ्ने डरको कारण विश्वविद्यालयका पदाधिकारी मौन रहँदै आएको स्रोत बताउँछ ।

उता विश्वविद्यालय परिषद्को कार्यकारी परिषद्की सदस्यसचिवको रुपमा रहेकी रजिष्ट्रार प्रमिला थापा नै विवादमा मुछिएपछि उनीमाथि लागेको अनियमितताको छानबिन कसले गर्ने भन्नेमा प्रश्न उठेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस