मन्त्री अधिकारीसहित सातै जनाको शव परीक्षणको काम सम्पन्न, श्रद्धाञ्जली सभा गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १७, शुक्रबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुन १७, काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव परीक्षणको कार्य सकिएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा बिहिबार राति साढे १ बजे सातै जनाको शव परीक्षणको कार्य सम्पन्न भएको डा. रिजन श्रेष्ठले जानकारी दिए ।

शव परीक्षणको काम दिउँसो साढे २ बजेदेखि सुरु भएको थियो । डा. श्रेष्ठले छिटो काम सक्नुपर्ने भएकोले आफूहरुको टोलीले एक छिन पनि आराम नगरेर सबै शवको परीक्षणको काम सकाएको बताए ।

अब सातै जनाको शव बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिने र श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्ने बताइएको छ ।

श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगेर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने र अन्य मृतकको शव आफन्तजनलाई जिम्मा दिइने छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस