लगानी सम्मेलनको मुखमा उद्योग विभागमार्फत भित्रिने लगानी प्रतिवद्धता झन् कमजोर बन्यो किन ??

बैशाख ४, काठमाण्डौँ । लगानी सम्मेलनको मिति नजिकिँदै गर्दा उद्योग विभागमार्फत भित्रिने लगानी प्रतिवद्धता झन् कमजोर बनेको छ । विभागका अनुसार यही चैतमा कुल लगानी प्रतिवद्धता एक अर्ब पनि पुग्न सकेन ।

अघिल्लो महिना फागुनमा साढे ६ अर्ब वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको थियो । चैतमा भने ९६ करोड ६५ लाख रुपैयाँमा सीमित छ । चैतमा प्राप्त लगानी प्रतिवद्धता फागुनको तुलनामा ५ अर्ब ५० करोड अर्थात् ८५.०८ प्रतिशत कम हो । अघिल्लो वर्षको चैतमा ७ अर्ब ५५ करोड रुपैयाँबराबरको लगानी प्रतिवद्धता प्राप्त भएको तथ्यांक छ । अघिल्लो महिना र अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत चैतमा वैदेशिक लगानी प्रतिवद्धतामा भारी गिरावट आएको छ । चैतमा दर्ता भएका परियोजना संख्या भने अघिल्लो महिनाको तुलनामा बढी छन् ।

चैतमा प्राप्त लगानी प्रतिवद्धता चालु आर्थिक वर्षमा माघपछिकै न्यून हो । माघमा भने लगानी प्रतिवद्धता ३४ करोड ५० लाख रुपैयाँमा खुम्चिएको थियो । लगानी प्रतिवद्धतामा तीव्र उतारचढाव देखिए पनि राष्ट्र बैंकमार्फत भित्रने खुद वैदेशिक लगानी भने फागुनमा ५ अर्ब ६३ करोडले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोडले धनात्मक थियो । केन्द्रीय बैंकले चैतको वैदेशिक लगानीसम्बन्धी तथ्यांक सार्वजनिक गरिसकेको छैन ।

उद्योग विभागका सूचना अधिकारी अर्जुन सेन ओलीका अनुसार चैतमा एक मझौला र १५ साना उद्योगसहित १६ औद्योगिक परियोजना स्वीकृत भएका छन् ।

सरकारले यही वैशाख १६ र १७ गते नेपाल लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । सम्मेलनलाई लक्षित गरी कानुन र नियमावलीमा संशोधन गर्ने भनिए पनि राजनीतिक कारणले अब अध्यादेशबाट मात्रै सम्भव हुने भएको छ ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्ल कानुन संशोधनबिना लगानी सम्मेलनको औचित्य नभएको बताउँछन् । लगानीको वातावरण नबनाई सम्मेलन गर्ने हो भने विगतका भन्दा फरक नहुने उनको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Comment