रञ्जितालाई रेशमले फेरि लेखे अर्को पत्र : मिल्दा मनैले मिलौं, छुटिंदा पनि जग नहँसाई छुटौं

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ८, शनिबार (१ हप्ता अघि)
  • ० पाठक संख्या
रञ्जितालाई रेशमले फेरि लेखे अर्को पत्र : मिल्दा मनैले मिलौं, छुटिंदा पनि जग नहँसाई छुटौं

बैशाख ८, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष पत्नी रञ्जिता चौधरी श्रेष्ठलाई सम्झाउँदै फेरि अर्को पत्र लेखेका छन् । यसअघि पनि उनले पार्टी विवादको विषयलाई लिएर पत्र लेखेका थिए । नाउपा संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमार्फत छताछुल्ल पारेका छन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबीच चरम विवाद छ । यस विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं आउन लागेको पत्रमा उल्लेख गरेका छन् । नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रञ्जितालाई अरुले भड्काइरहेको उनको टिप्पणी छ । ‘केही स्वार्थी मान्छेले तिम्रो–मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिध्याउने खेलमा लागेको मैले त बुझेको थिएँ तर तिमीले बुझेनौं । तिमी सोझी र अञ्जान छ्यौ तर मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।

१ माननीय इन्दिरा गिरिलाई कारबाही गर्न उक्साए ।
२ माननीय घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाउन लगाए ।
३ तिमीलाई उकासी उकासी पत्रमाथि पत्र काट्न लगाए ।

‘यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो,’ रेशमले भनेका छन्, ‘यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन् । तर अब रोकिनु हुन्न । संवादको सुरुवात गरे दुवैको मन हल्का होला । नबिर्सनु रञ्जिता, यिनले हामीलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन् । वास्तवमा यिनले हामी दुबैलाई नङग्याई राखेका मात्रै हुन् ।’

उनले अरूको कुरा नसुनेर पार्टी हितमा काम गर्न आग्रह गरेका छन् । ‘तिमीले यत्ति बुझ्नु रञ्जु, हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ ? यो दुवै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो,’ उनले भनेका छन्, ‘तिमीलाई मेरो सुझाव छ रञ्जु, अहिले केहि दिन तीन तत्वबाट टाढा रहनु ।

१ छोरी भन्नेसँग ।
२ भाउजू भन्नेसँग ।
३ भान्जी भन्नेसँग ।

‘यी तीन को खेलबाट बच्नु कल्याण आफै हुन्छ’, रेशमले भनेका छन् । संरक्षक चौधरीले मिल्दा पनि मनैले मिल्न र छुट्टिँदा पनि जग नहँसाई छुट्टिन आग्रह गरेका छन् । ‘जसले तिमीलाई मन्त्री ज्यू भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो । अहिले म काठमाडौंमा केवल तिमीलाई भेट्ने उद्देश्यले मात्रै आउँदैछु । केवल दुई जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ,’ उनले भनेका छन्, ‘मिल्दा पनि मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाई छुट्टिऔँ । हाम्रा सन्तान, इष्टमित्र सबैलाई आहत भएको छ । यसैमा दुवैको भलाई छ र पार्टीको कल्याण पनि ।’

ताजा अपडेट

खोजी गर्नुहोस