हिमालयन हाइड्रो एक्स्पो २०२४ः वातावरणीय स्वच्छतालाई जलविद्युतले कसरी सहयोग गर्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख १०, सोमबार (१ हप्ता अघि)
  • ६ पटक पढिएको
हिमालयन हाइड्रो एक्स्पो २०२४ः वातावरणीय स्वच्छतालाई जलविद्युतले कसरी सहयोग गर्छ ?

बैशाख १०,काठमाडौँ । पछिल्लो समय विश्वव्यापी रुपमा चासोको रुपमा रहेको वातावरण स्वच्छताको विकासतर्फ नेपालले पनि फड्को मार्ने देखिएको छ । जलविद्युतको तीव्र विकास र विस्तार हुँदै जाँदा नेपालमा वातावरण स्वच्छताले महत्व पाउन थालेको हो । हाल मुलुकमा धेरै ठूलो संख्यामा जलविद्युत आयोजनाहरू निर्माणका क्रममा छन् । सरकारले आसन्न लगानी सम्मेलनमा पनि करिब ६ हजार मेगावाट विद्युतका आयोजना निर्माणका लागि प्रदर्शनी गर्दैछ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका अनुसार, अहिले करिब ३ हजार मेगावाट जडित क्षमतामा २१०० मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गरेको छ । करिब ९ हजार ६ सय मेगावाटका २४९ आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र लिएका छन् ।

साथै ११०६९ हजार मेगावाटका १०४ आयोजनाले उत्पादन अनुमतिपत्र लिनका लागि आवेदन दिएका छन् । अध्ययन अनुमतिपत्र प्रदान गरेका ८ हजार ४४२ मेगावाटका ८८ आयोजना अध्ययनको विभिन्न चरणमा छन् । यस्तै सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ । यसले नेपालमा जलविद्युतको तीव्र विकासलाई देखाउँछ । यसरी जलविद्युतको विकास र विस्तार हुँदै जाँदा यसले वातावरण स्वच्छतामा समेत उल्लेख्य भूमिका खेल्ने जानकारहरू बताउँछन् । सरकारले सन् २०३५ सम्म विद्युत् खपत १५०० युनिट पु¥याउने लक्ष्यसहित आन्तरिक विद्युत् खपतका लागि पनि योजनाबद्धरूपमा काम गरिरहेको छ । यसैलाई लक्षित गरी ‘विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८०’ स्वीकृति गरिसकेको छ । यसले आगामी दिनमा विद्युत खपतलाई झनै बढाउने देखाउँछ ।

वातावरणीय स्वच्छतालाई कसरी सहयोग मिल्छ ?

नेपालमा खाना पकाउने उर्जाको आपुर्तिलाई तथ्यांकमा हेर्ने हो भने दाउराको प्रयोग ६५ प्रतिशत, मट्टीतेल १४ प्रतिशत, गुइँठा १० प्रतिशत, एलपी ग्यास ७ प्रतिशत, वायो ग्यास २ प्रतिशत र बाँकी अन्य स्रोतहरू प्रयोग भएको देखिन्छ । यसरी नेपालको कुल उर्जा खपतमा परम्परागत उर्जा अन्तर्गतका दाउरा, कृषि उत्पादनजन्य गोबर र गुइँठाको प्रयोग ७९ प्रतिशत छ भने पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र जलविद्युतको अंश २० प्रतिशत र बाँकी बायो ग्यास, सोला बाट झण्डै १ प्रतिशत उर्जाको आपुर्ति हुने गरेको देखिन्छ । यसलाई कम गरी पछिल्लो समय सरकारले पनि नविकरणीय उर्जाका स्रोतको अनुुसन्धान र प्रयोगमा विशेष ध्यान दिइरहेको पाइन्छ । नेपालमा नविकरणीय उर्जाको मुख्य स्रोतका रुपमा जलविद्युत र सौर्य उर्जा पर्दछ । जलविद्युतको विकाससँगै सरकारले जनतामा खाना पकाउने उर्जा तथा पेट्रोलियम पदार्थको प्रयोगको विकल्पमा विद्युतीय सवारीसाधनलाई प्रयोग गर्न सकेमा वातावरण स्वच्छतामा यसले ठूलो भूमिका खेल्ने जानकारहरू बताउँछन् ।
समयक्रमसँगै जलविद्युतमा निर्भर हुँदै जाने र जनताका भान्छामा समेत विद्युतीय सामाग्रीबाट खाना पकाउने गर्न सकिएमा यसले वातावरणलाई सफा राख्नमा ठूलो सहयोग गर्ने वातावरणविद् मञ्जित ढकाल बताउँछन् ।

उनले जतिबढी जलविद्युत उत्पादन र त्यसको खपत गर्न सक्यो त्यति बढी पेट्रोलियम पदार्थको प्रयोग कम गर्न सकिने बताए । उनले भने,‘ विद्युतको बढी प्रयोग गर्दा पेट्रोलियम पदार्थको कम प्रयोग हुने र वातावरण स्वच्छता कायम राख्न सकिने हुन्छ,’ उनले भने । जलविद्युतको विकाससँगै नेपालले मुख्य सहरहरूमा प्रयोग हुने सार्वजनिक सवारी साधनलाई समेत विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न सक्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले काठमाडौंको कुनै डाँडाबाट हेर्दा परसम्म देखिँदैन । प्रदुषण निकै धेरै छ । यहाँको प्रदुषणको स्रोत गाडीबाट निस्कने धुवा, बाटोको धुलो लगायत हुन्,’ उनले भने,‘अब सार्वजनिक यातायातका रुपमा विद्युतीय गाडीलाई प्रयोग गर्न सकिएमा वातावरण स्वच्छता राख्न सकिन्छ । सबै क्षेत्र सफा राख्न यसले सहयोग गर्छ ।’

आयोजना सँगै हुन्छ विकास

आयोजनाको तीव्र विकाससँगै कतिपयले वातावरणको विनास गरेको समेत गुनासो गर्दै आइरहेको पाइन्छ । तर दीर्घकालिन महत्वसहित निर्माण हुने त्यस्ता आयोजनाले विनासमात्रै गर्दैन आयोजना सँगै समाजकै विकास समेत गर्ने गरेको पाइन्छ । सरकारले हरेक आयोजना निर्माणका क्रममा काटिने एउटा रुख बराबर २५ वटा रुखका विरुवा रोप्नुपर्ने नियम लागू गरेको छ । जसले कुनै पनि आयोजना विकास र विस्तार गर्दै जाँदा त्यो आयोजनास्थल नै हरियाली हुने समेतको वातावरण तयार गर्ने गरेको जानकारहरू बताउँछन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजना, कुलेखानी जलविद्युत आयोजना लगायतका ठूला आयोजना निर्माणसँगै त्यस क्षेत्रमा रोपिएका विरुवाहरूले अहिले त्यस क्षेत्र हरियाली बनेको छ । सरकारले यस्ता कामलाई निरन्तरता दिएर आयोजना निर्माणमात्र नभई समाजलाई नै हरियाली बनाउन सक्नुपर्ने विज्ञहरू औंल्याउँछन् । समग्रमा जलविद्युतको विकासले न्यून कार्बनमुखी अर्थतन्त्र निर्माणमा मुख्य सहयोग खेल्ने जानकारहरू बताउँछन् । जलविद्युन नविकरणीय उर्जा भएकाले यसले वातावरण स्वच्छता कायम राख्न निकै ठूलो भूमिका खेल्ने उनीहरूको भनाइ छ ।

विकास र वातावरणलाई सँगै लैजान सक्दा त्यसले ठूलो प्रभाव पार्ने माथिल्लो तामाकोशी जलविद्युत कम्पनी लिमिटेडका पूर्वसिईओ विज्ञानप्रसाद श्रेष्ठ बताउँछन् । अहिले जलविद्युतको विकास गर्न लागिपरेको अवस्थामा वनसँग सम्बन्धित निकायहरूले पनि सोही अनुसार बुझ्नुपर्नेमा उनले जोड दिए । उनले भने,‘विकास सबैका लागि हो । विकाससँगै वातावरण पनि जोगाउँदै लैजानुपर्छ । यो सबै क्षेत्रले बुझेमा विद्युतमात्र हैन जुनसुकै आयोजनाको विकासमा पनि समस्या हुँदैन ।’ नविकरणीय उर्जाका रुपमा जलविद्युतको विकास र विस्तारबाट मुलुकले वातावरण स्वच्छताको लाभ उठाउन सक्नेमा शंका नहुने उनी बताउँछन् । अहिले संसारमा नै कार्बन उत्सर्जनलाई कम गर्ने र नविकरणीय उर्जालाई व्यापकता ल्याउनुपर्नेमा जोड दिइरहँदा नेपालमा जलविद्युतको विकासले यसतर्फ अगाडि बढ्न ठूलो सहयोग गर्ने उनी बताउँछन् । यसबाहेक जलविद्युत कम्पनीले पनि आयोजनाले प्रभाव पार्ने वनजंगलमा वृक्षरोपण गर्ने र विरुवा हुर्काउनेतर्फ चासो दिनुपर्नेमा जानकारहरू जोड दिन्छन् । यसमा कम्पनीहरूले वन कार्यालयसँग समन्वय गरी वृक्षरोपण गरेमा केही वर्षपछि सरकारलाई हस्तान्तरण गरेमा हरियाली मात्र नभई वातावरण स्वच्छतामा समेत सहयोग पुग्ने कतिपयको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस