‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनौँ : २०७२ सालको भूकम्पको सम्झनामा बृहत फोटो प्रदर्शनी

‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनौँ : २०७२ सालको भूकम्पको सम्झनामा बृहत फोटो प्रदर्शनी

बैशाख ११, काठमाण्डौँ । नेपालमा २०७२ साल वैशाख १२ गते ११ः५६ बजे गोरखाको दक्षिणपूर्व बारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.९ म्याग्नेच्युुटको विनाशकारी भूकम्पको सम्झनामा भूकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतना फैलाउन वैशाख १२ गते बृहत फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।

भनिन्छ एउटा फोटोले हजार शब्द बराबरको बयान गर्न सक्छ, त्यसैले गोरखा भुकम्प २०७२ साल वैशाख १२ लगायत विभिन्न समयमा डोटी, बझाङ्ग, जाजरकोट आदी स्थानमा गएका भूकम्पहरुबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृष्यहरु समावेश गरी उक्त फोटो प्रदर्शनीमार्फत सचेतना फैलाउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो ।

भूकम्पीय विपत् सामान्य हुँदै जाने क्रममा विगतका पीडा बिर्सँदै जाने मानवीय स्वभाव छ । त्यसैले फोटो प्रदर्शनी मार्फत ती विगतलाई बिर्सन नदिई सम्भावित भूकम्पबाट हुने मानवीय तथा भौतिक क्षतिको न्यूनिकरणका लागि हरपल सचेत रहनुपर्छ भन्ने सन्देश दिने प्रयास गरिएको हो ।

त्यही कुरालाई ह्रदयंगम गरी खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरुको संस्था ‘संवाहिका समाज नेपाल’को सह–आयोजनामा बृहत फोटो प्रदर्शनीको आयोजना गरिएको हो । खानी तथा भूगर्भ विभाग, लैनचौर परिसर मा हुने प्रदर्शनीमा भूकम्प सम्बन्धी तस्वीरहरु राखिने छ ।

नेपालमा २०७२ साल वैशाख १२ गते ११ः५६ बज विनाशकारीे गोरखा भुकम्प गएको थियो । यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प थियो । त्यो बेला करिब ९००० मानिस ज्यान गएको थियो भने आठ लाखभन्दा बढी भौतिक संरचनाहरुको क्षति भएको थियो । साथै उक्त भूकम्पमा २२ हजार भन्दा बढी मानिसहरु घाइते भए । सो भूकम्प गएको एक वर्षको अवधिमा करिब पाँचसय भन्दा बढी परकम्पहरु महसुस गरिए । जसमध्ये ५ म्याग्नेच्युुटभन्दा माथिका ६ वटा थिए । बैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पहरुको चपेटामा परेर ८ हजार ७८९ जनाको मृत्यु भयो ।

विगत केही वर्षयता नेपालको पश्चिमी भूभागमा पटकपटक मझौला खालका भुकम्पको धक्का महसुस भइरहेको छ। गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ लोकल म्याग्नेच्युटको भूकम्पमा परेर १५६ जनाले ज्यान गुमाए । जाजरकोट, बझाङ र रुकुम पश्चिममा गरेर ८४ हजारभन्दा बढी घरहरु क्षतिग्रस्त बने।

नेपालको भौगोलिक अवस्थितिका कारण भविष्यमा २०७२ सालको जस्तै वा त्यो भन्दा पनि ठूलो विनासकारी भूकम्प आउने संभावना उत्तिकै छ । नेपालको पश्चिमी भेगमा ठूला भूकम्प नआएको पनि पाँचसय वर्ष भन्दा बढी बितिसकेको छ । तसर्थ नेपाल सदैब भूकम्पीय उच्च जोखिममा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस