फागुन १७,धादिङ । सम्वृद्ध नेपाल र सुखि नेपाली भन्ने नेपाल सरकारको नारालाई व्यवहारिक कार्यान्वयन गर्ने उद्देश्यले धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा ह्वासिन सिमेन्ट उद्योगको भवन शिलान्यास गरिएको छ ।
नेपाल सरकार संघीय सांसदका सभामुख कृष्ण बहादुर महराद्धारा शिलान्यास भएको उक्त सिमेन्ट कारखाना नेपालकै सबैभन्दा ठुलो र धेरै उत्पादन गर्ने सिमेन्ट कारखानाको रुपमा रहेको कम्पनीले बताएको छ ।
उद्योगपति सुरज वैध र ह्वासिन सिमेन्ट कम्पनीको सँयुक्त लगानीमा सञ्चालन हुने उद्योगको शिलन्यास कार्यक्रममा वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीको सभापतित्व तथा संघीय सांसदका सभामुख कृष्ण ब. महराको प्रमुख अतिथ्यता रहेको थियो ।
चीनको हुवेइ प्रान्तस्थित वुहान सहरमा केन्द्रिय कार्यालय रहेको हवासिन सिमेन्ट कम्पनिको स्थापना सन् १९०७ मा भएको हो । १ सय ५० कारखाना रहेको हवासिनको सिमेन्ट उत्पादन क्षमता १०० मिलियन टन भन्दा पनि बढी रहेको छ । कुल ५ अर्व अमेरिकी डलर पुँजी रहेको कम्पनिले २० हजार भन्दा बढीलाई रोजगारी दिदैं आएको छ ।
विभिन्न राष्ट्रहरुमा ह्वासिन सिमेन्टको उधोगहरु निर्माण भएता पनि नेपालमा भने पहिलो पटक उद्योग सञ्चालनमा आउन लागेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महराले उद्योग सुरु गर्नु भन्दा पनि यसलाई संरक्षण र सम्र्वधन गर्दै निरन्तरता दिनु महत्वपूर्ण कुरा रहेको बताएका थिए ।
महराले छिमेकी राष्ट्रले बाटो देखाइदिने भएकाले आफ्नो काम हामी आफैले स्थानिय स्रोत र साधनको सही प्रयोग गर्दै रोजगारीको अवसर र्सिजना गर्नुपर्ने बताए । उद्योग सञ्चालनमा आएपछि प्रत्यक्ष रुपमा ३०० जनाले र १००० भन्दा बढिले अप्रत्यक्ष रोजगारी पाउने कम्पनीले बताएको छ ।