आगलागी पिडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख १५, शनिबार (१ हप्ता अघि)
  • ११ पटक पढिएको
आगलागी पिडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको निर्देशन

बैशाख १५,काठमाडौँ । आगलागीबाट घरबास गुमाएका पीडितले खान, बस्न नपाएको गुनासो गरिरहँदा सरकारले तत्काल राहत, उद्धार तथा व्यवस्थापनको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

हिजो गृह मन्त्रालयमा बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिएका हुन् । कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अरु विपद्मा परेकालाई तत्काल राहतका लागि ढिलाइ नगर्न सरकारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

गृहमन्त्री लामिछानेले आगलागी र डढेलो नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाले पहल गर्नुपर्ने बताउनुभयो । केही दिनयता तापक्रम बढेसँगै देशभरि डढेलो र आगलागीका घटना बढेका छन् । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार वैशाख लागेदेखि देशका चार सयभन्दा बढी ठाउँमा आगलागी भएको छ भने दुई सयभन्दा बढी ठाउँमा डढेलो बस्ती पसेको छ ।

दुई हप्तामा आगलागी र डढेलोका कारण १० जनाले ज्यान गुमाएका छन् । वैशाख लागेपछि सात सयभन्दा धेरै घरमा आगो लागेको छ । नौ सयभन्दा धेरै परिवार प्रभावित भएका छन् । २३ करोड रुपैयाँभन्दा धेरैको भौतिक क्षति भएको आंकलन गरिएको छ ।

अझै केही दिन उच्च तापक्रम र हावाहुरीको अवस्था रहने भएकाले आगलागीको बढ्ने जोखिम छ । डढेलो तथा आगलागीका घटना हुनै नदिन गाउँठाउँमा सचेतना अभियान सञ्चालन गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस