नयाँ बर्ष, जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

नयाँ बर्ष, जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं, वैशाख १६ गते । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

बैशाख १४ गते शुक्रबारको दिन समाजको कतार शाखाले दोहाको सनैयास्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा भव्य कार्यक्रम आयोजना गरेको हो ।
कतार शाखाका अध्यक्ष शिव कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने समाजका संस्थापक डा. रवीन्द्र कुमार यादव र कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई विशिष्ट अतिथिको रुपमा सहभागी थिए ।
कार्यक्रममा एनआरएनएका पदाधिकारी तथा कतारस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिका साथै पत्रकार एवं बुद्धिजीविहरुको पनि बाक्लो उपस्थिति थियो ।
शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि एवं मधेश प्रदेशका अर्थमन्त्री यादवले नेपालको वर्तमान राजनीति र मधेशको पिछडिएको अवस्था एवं विकासका बारेमा आफ्नो धारणा राखेका थिए ।

नेपाली दूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले रोजगारीको सिलसिलामा कतारमा रहेका लगभग साढे तिन लाख नेपालीमध्ये प्रदेशको हिसाबले मधेश प्रदेशबाट कतारमा सबैभन्दा धेरै नेपाली दाजुभाई रहेको बताए । मधेशका दाजुभाई नेपालबाट कतार आउँदा धेरै ठगिएको आफूले पाएको बताउदै कार्यवाहक राजदूत राईले आगामी दिनमा ठगिनबाट जोगिन सबैलाई आग्रह गरे । आफू मध्यपहाडी भेगको भएपनि मधेसका दाजुभाईप्रति अत्यन्तै माया र सम्मान रहेको उनको भनाइ थियो ।

समाजका संस्थापक डा. यादवले मधेशका सबै जातजाति र समुदायलाई एकताबद्ध गर्नु, मधेशका भाषा र संस्कृतिको संरक्षण गर्नु एवं देश र मधेशको विकासमा योगदान दिनु मधेशी एकता समाजको मुख्य उद्देश्य रहेको बताए । यस्तै, मधेशको सामाजिक विकृति विसंगति उन्मूलनमा योगदान, मधेशीमा आत्मनिर्भरताको विकास र मधेशी परम्पराको संरक्षणलगायतका कार्यहरु पनि एकता समाजको लक्ष्य रहेको डा. यादवको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस