जेठ ६,काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक आज बिहान ११ बजेलाई तय गरिएको छ। आज बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ।
यसैगरी, सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०८१ जेठ १ गते मंगलबारका दिन गरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूचीसमेत छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने पनि कार्यसूची रहेको छ।
प्रधानमन्त्रीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची पनि छ।
उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भएका हुन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनेको छ। कार्यदलमा नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल रहेका छन्। आज बस्ने कार्यदलको बैठकले सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउने छ।
आजदेखि संसदको गतिरोध अन्त्य हुने विश्वास लिइएको छ। बर्खे अधिवेशन सुरु भययता संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन। कांग्रेसले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम भने प्रस्तुत गर्न दिएको थियो।