फागुन २१,पाल्पा । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले स्थानीय तहले जनतालाई नियन्त्रण होइन सहजिकरण गरेर काम गर्नुपर्ने बताएका छन ।
पाल्पाको रामपुर नगरपालिकाको आर्थिक सहयोगमा ‘बाँस रामपुर’को आयोजनामा भएको एकदिने युवा जागरण प्रशिक्षण कार्यक्रममा प्रमुख सूचना आयुक्त बाँस्कोटाले जनतालाई डर धम्की नभई उनीहरुका साझा धारणालाई समेटेर ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्पका साथ काम गर्नुपर्नेमा जोड दिए ।
एकता नै बल भएकाले द्धन्द्ध र बैमनस्यताले नभई जनप्रतिनिधिले जनतासँग मिलेर काम गर्न सकेमा स्थानीय तहले विकासको फड्को मार्ने उनको भनाइ थियो । काम गर्ने शिलशिलामा विरोधका आवाज आएमा त्यसलाई सहजिकरण गरेर सबैलाई समेट्ने गरी स्थानीय निकायका जनप्रतिनिधिले काम गर्नुपर्ने बाँस्कोटाले बताए। कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।