मुन्दुम पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

फागुन २१,काठमाडौँ । पूर्वी पहाडी जिल्ला भोजपुरअन्तर्गतको मुन्दुम ट्रेललाई उत्कृष्ट पदमार्ग र पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । मैयुङ टेम्के साल्पा सिलिचङ पर्यटन प्रवद्र्धन केन्द्रले उक्त पदमार्गलाई मध्यपहाडी क्षेत्रको नमूना पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धनको काम शुरु गरेको हो ।

मुन्दुम ट्रेल भोजपुर र खोटाङको सिमानामा पर्ने चखेवा भञ्ज्याङबाट शुरु भई छिनामुखु, मेरुङडाँडा, हासपोखरी मैयुङ डाँडा, लौरीडाँडा रावाटार, साल्पा सिलिछो पुगेर सुन्तले हुँदै भोजपुर बजारसम्म पुगिनेछ । करीब १०० किलोमिटर दूरीको यो पदमार्ग छिचोल्न १३ दिन लाग्नेछ ।

सरकारले मुन्दुम ट्रेललाई नेपालको घुम्नैपर्ने उत्कृष्ट १०० गन्तव्य छनोट गरी प्रवद्र्धनात्मक गतिविधि अघि बढाएको छ । सोहीअनुरुप सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।

टेम्के मैयुङ गाउँपालिकाले पनि रु ५० लाख बजेट छट्याएको छ । पदमार्गका लागि प्रारम्भिक चरणमा नेपाल पर्यटन बोर्डले सङ्केत चिह्न, सूचना पाटी राख्नका लागि रु १० लाख बजेट खर्चनेछ ।

पहिलो चरणमा पर्यटक आवतजावत सहज र प्रवद्र्धनका लागि गुरुयोजना तथा आधारभूत पूर्वाधारका लागि रु पाँच करोड ८५ लाखको बजेट प्रस्ताव गरिएको केन्द्रले जनाएको छ । सँगसँगै यो पदमार्गमा प्याराग्लाइडिङ, अल्ट्रा म्याराथनलगायतका गतिविधि सञ्चालन गरिनेछ ।

मुन्दुम ट्रेल विशेष गरेर किराँत भाषा, संस्कार, संस्कृति, किराँत दर्शन, लोक साहित्य तथा प्राकृतिक सौन्दर्यतले भरिपूर्ण, जडीबुटी जस्ता जैविक विविधताले भरिपूर्ण रहेको छ । जहाँबाट सर्वोच्च शिखर सगरमाथासहित ९८००० मि।० अग्ला छ वटा हिमाल देख्न सकिन्छ । यो पदमार्ग नेपालको एकमात्र सबैभन्दा छोटो गन्तव्य हुनेछ जुन पदमार्गमा हिमालको अनुभव, पहाडको अनुभव, सप्तकोशीमा ¥याफ्टिङ र कोशी टप्पुमा वन्यजन्तु अवलोकन गर्न पाइनेछ ।

मध्य पहाडी क्षेत्रको नमूना पर्यटकीय गन्तव्य बन्ने सम्भावना देखिएकाले यसको प्रवद्र्धनमा जुटेको केन्द्रका अध्यक्ष रमेशकुमार राईले जानकारी दिए । मुन्दुम ट्रेलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले प्राकृतिक सौन्दर्यता, उच्च पहाडी क्षेत्र र हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पाइने यो क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको बताए ।

आगामी भदौ महीनादेखि शुरु गरिने यो पदमार्गमा पहिलो चरणमा अस्थायीरुपमा पदयात्री बस्ने व्यवस्था तथा आवश्यक पूर्वाधार विकासमा लागिपरेको संस्थाले जनाएको छ । पथप्रदर्शक इन्सु राईले किराँत संस्कृति, प्राकृतिक सौन्दर्यता, भौगोलिक विविधता र हिमाली दृश्यको अवलोकन गर्न सकिने भोजपुरको समग्र पर्यटन प्रवद्र्धनमा पदमार्ग उपयोगी बन्ने बताए ।

मुन्दुम पदमार्गअन्तर्गत वन्यजन्तु र जैविक विविधताको संरक्षणका लागि कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने तथा यो पदमार्गलाई विश्वस्तरको पर्यटकीय गन्तव्य बनाउन सप्तकोशीदेखि सगरमाथासम्मको ‘ग्रेटर मुन्दुम ट्रेल’ सञ्चालन गर्ने यसअघिको मुन्दुम ट्रेल विकास तथा प्रवद्र्धन सम्मेलनले निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मकालु हिमाल, एभरेष्ट, हुन्कु भ्याली प्रवेशद्वारका रुपमा यो पदमार्गलाई विकास गर्न आवश्यक कार्ययोजना बनाउने र नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन बढीभन्दा बढी पर्यटक आकर्षण गर्नेगरी अभियान सञ्चालन गरिने जनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply