फागुन २१, काठमाडौँ । मेरुदण्डमा नसासम्बन्धी अनेकौँ समस्या देखिन्छन्।
तीमध्ये एक हो नसा च्यापिने समस्या। यो कुनै ठूलो रोग नभई मेरुदण्डमा हुने मांसपेशी र नसाको कमजोरीका कारण हुने यान्त्रिक समस्या हो।
हाम्रो शरीरका प्रत्येक हड्डीको बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ। जसलाई डिस्क भनिन्छ।
उक्त डिक्स विभिन्न कारणले बाहिर निस्किएर नसा च्याप्ने गर्छ।
नसा च्यापिने समस्या शरीरका जुनसुकै भागमा हुन सक्छ। तर, मेरुदण्ड वा कम्मरमा यो समस्या बढी हुन्छ।
नेपालमा ढाड दुखेर वा हड्डी सम्बन्धी कुनै समस्या लिएर अस्पताल आएका विरामीमध्ये अधिकांशमा नसा च्यापिने समस्या पाइएको छ।
नसा च्यापिनुको मुख्य लक्षण दुखाई हो। कम्मरको नसा च्यापिएमा ढाडका हड्डी बेस्सरी दुख्ने, एक ठाउँमा धेरैबेर बस्न नसक्ने समस्या हुन्छ।
उमेर वढ्दै जाँदा अधिकांशमा नसा च्यापिने समस्या हुने गरेको पाइन्छ।
नसा च्यापिने समस्याबाट बच्न ढाड र मांसपेशीमा असर पर्नेगरी भारी काम नगर्ने, तौल नियन्त्रण गर्ने, वसाईको व्यवस्थापन गर्ने गरेमा नसा च्यापिने समस्याबाट केही हदसम्म बच्न सकिन्छ।
नसा च्यापिएको जस्तो लाग्नेगरी ढाड दुखेमा तुरुन्त चिकित्सककोमा जानुपर्छ। एमआरआई गरेर यसको अबस्थाबारे थाहा पाउन सकिन्छ। औषधि वा सानो शल्यक्रिया गरेर नसा च्यापिने समस्याको समाधान गर्न सकिन्छ।