‘उनीहरु पछुताउने छन् र गोडा चुमिरहेका हुने छन्’

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन २१, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन २१, काठमाडौँ । रियल मड्रिडका समर्थकले ग्यारेथ बेलमाथि गरिरहेको पछिल्लो व्यवहार अपमान बाहेक अरु केही नरहेको उनका एजेन्टले बताएका छन् ।

गएको शनिबार राति एल क्लासिको अन्तर्गत घरेलु मैदानमा भएको खेलमा बेल ६१ औँ मिनेटमा मैदान बाहिर निस्कने बेला रियल मड्रिडका केही समर्थकले उनको मजाक उडाएका थिए । शनिबार रातिको खेलमा रियल मड्रिड बार्सिलोनासँग १–० ले पराजित भएको थियो ।

बेलका एजेन्ट २९ वर्षका जोनथन बार्नेटले भनेका छन्, ‘अहिलेको समयका रियल मड्रिडका समर्थकले बेलका गोलहरुको चर्चा वर्षौँसम्म गर्ने छन् । उनीहरु आफ्नो व्यवहारका लागि लज्जित हुने छन् । अहिले मजाक उडाएका समर्थकहरुले बेलको गोडा चुमिरहेका हुनेछन् ।’

बेल सन् २०१३ मा टोटनह्यामबाट ८५ मिलियन पाउण्डमा रियल मड्रिड गएका हुन् । उनले यो सिजन ३३ खेलमा रियल मड्रिडका लागि १३ गोल गरेका छन् । तर पछिल्ला केही हप्तादेखि रियल मड्रिडमा उनको भविष्यलाई लिएर आशंका उब्जिएका छन् ।

रियल मड्रिडसँगको उनको सम्झौता सन् २०२२ सम्मको छ ।

बार्नेटले भनेका छन्, ‘बेल उच्च सम्मान तथा आदरका भागिदार हुन् । रियल मड्रिडका समर्थकले उनीप्रति गरिरहेको व्यवहार अपमान बाहेक केही होइन । पछिल्लो ६ वर्षदेखि उनी स्पेनमा छन् र उनले सबै कुरा जितेका छन् । बेल विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन् ।’

बेलले रियल मड्रिडबाट चारपटक च्याम्पियन्स लिग तथा एक पटक ला लिगाको उपाधि जितेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस