महानगरको नगरसभा बैठक स्थगित !

बालेनले स्टाटस लेखे–नेताको नामका कार्यक्रमले विवाद
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १४, शुक्रबार (९ महिना अघि)
  • १२२ पटक पढिएको
महानगरको नगरसभा बैठक स्थगित !

असार १४,काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सहभागी नभएपछि आजको बैठक स्थगित भएको छ ।

‘आज बिहान बोलाएको छलफलमा मेयर आउनु भएन । पर्याप्त तयारी नपुगेको भन्दै छलफलमा सहभागी नभएपछि स्थगित भयो,’ महानगरका प्रवक्ता नविन मानन्धरले भने । उनले कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा राखेको साझा संशोधन प्रस्तावको छलफलमा तयारी नभएकोले नआएको भन्ने बुझिएको बताए ।

वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन भन्छन् ‘उहाँले तिमिहरू के गर्न सक्छौ गर भन्ने शैलीमा छलफल गर्न हलमा नै ओर्लिनुभएन । हामीले राखेको केही प्रस्ताव नै नमान्ने भन्ने त हुँदैन नी । उहाँले ल्याएको नीति कार्यक्रम ढुंगामा लेखिएको हो र छलफल गरेर सल्टाउँ भन्दा उल्टै प्रतिशोध साँधेको जस्तो गर्नुभयो, त्यही भएर आज स्थगित भएको हो,’ उनले भने । बालेनले प्रश्न फेस गर्न डराएर स्टाटस लेखेको समेत महर्जनले बताएका छन् ।

बिहान ८ बजेदेखि ११ बजेसम्म कुर्दासमेत मेयर बालेन नआएको महर्जनले जानकारी दिए ।

बालेनले स्टाटस लेखे–नेताको नामका कार्यक्रमले विवाद

आफैं अनुपस्थित भएर नगर सभा स्थगित भएपछि बालेनले सामाजिक सञ्जालमा नेताको नाममा करोडौंको कार्यक्रम गर्न नमान्दा नगर सभा रोकेको बताएका छन् । ‘एमाले कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौैं भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौं भनेँ ।

सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस एमालेका नेताहरूको योगदान देख्नुभयो होला । त्यसपछि आज बस्ने नगर सभा बैठक रोकेर जानुभयो,’ उनले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस