तनहुँ हाइड्रोपावरः सिएमसीसँगको ठेक्का सम्झौता रद्द !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २३, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २३, काठमाडौँ । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको ठेकेदार कम्पनी सिएमसीसँको ठेक्का सम्झौता रद्द गरेको छ । कम्पनीले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालीको उक्त कम्पनीलाई जिम्मा दिएको थियो । गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो ।

मेलम्ची खानेपानी आयोजनामा काम छोडेको इटालीको कम्पनीले सो आयोजनामा महत्वपूर्ण जिम्मा पाएको थियो । कूल १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनामा काम गर्न नस्क्ने देखिएपछि गत फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिइएको थियो । ठेकेदार कम्पनीले तनहुँ आयोजनालाई आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले बुधबार ठेक्का सम्झौता रद्द गरेको जानकारी सिएमएसीलाई गराएको सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए।

खरीद सम्झौता रद्द गर्नुपर्ने कारणमा खरीद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न गरेको आग्रहलाई अस्वीकार गरेको देखाएको छ । यस्तै ठेकेदार कम्पनीले अग्रीम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायत जानकारी आएको छ ।

तनहुँ हाइड्रोपावर लिमिटेड र सिएमसीबीच गत असोज १५ गते रु २० अर्ब ६४ करोड ५२ लाख खरीद सम्झौता भएको थियो । तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सिएमसीले कार्यसम्पादन जमानतवापत राखेको ८७ लाख ४९ हजार युरो र रु ८५ करोड १४ लाख समेत जफतको लागि दाबी गरेको छ । सिएमसीका तर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बैँक लिमिटेडले यही हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ । सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाको लागि तयारी गरिएको छ ।

नयाँ ठेक्का आह्वान गर्न बोलपत्र कागजात तयारी अन्तिम चरणमा पुगेको छ । कम्पनीले आगामी चैतको दोस्रो हप्ताभित्रमा नयाँ बोलपत्र आह्वान गर्ने लक्ष्य राखेको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका काम गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम थालिसकेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भइसकेको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस