इआइए ढिलाइले महाकाली करिडोरको काममा असर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २३, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन २३, दार्चुला । सरकारको प्राथमिकतामा रहेको महाकाली करिडोर सडक निर्माणले अझै गति लिन सकेको छैन । सडक निर्माण गर्नुपूर्व हुनुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को प्रतिवेदन ढिलाइले सो काम रोकिएको हो ।

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्मको कूल २९१ किलोमिटर सडकखण्ड समयमै इआइए प्रतिवेदन नआउँदा सडकको ठेक्का नै अघि बढेको छैन्, दार्चुला तिङ्कर सडक योजना प्रमुख अच्युत पन्तले भने । ०७३/७४ मा ८८ किलोमिटर सडकखण्डको मात्रै ठेक्का भएर काम अघि बढेको छ ।

बैतडी र दार्चुलामा पनि वन क्षेत्र पर्ने भएकोले सडक निर्माणले सोचेअनुरुप प्रगति हुन नसकेको उक्त योजनाले जनाएको छ । डडेल्धुरा, बैतडी र दार्चुला गरी तीन खण्डमा काम गरिएका बेला वातावरणीय प्रभाव मूल्याङ्कन नगर्न योजनामाथि दबाब परेको थियो । कञ्चनपुरको ब्रह्मदेवमा सडक निर्माणका लागि ठेक्का भएको छैन । कञ्चनपुर र डडेल्धुरा क्षेत्रमा बढी वन क्षेत्रपर्छ । “अहिले पनि इआइए प्रतिवेदन आइपुगेको छैन”, पन्तले भने, “निरन्तर चाँडो प्रतिवेदन बुझाउन आग्रह गर्दै आएको छु । समयमै प्रतिवेदन आए नयाँ ठेक्का लगाएर करिडोरको काम अघि बढाउन सहज हुन्छ ।”

महाकाली राजमार्गको विकल्पका रुपमा छोटो रुपमा महाकाली नदीको किनारै किनार भएर करिडोर बनाउन लागिएकोे हो । महाकाली करिडोर चुरे वन क्षेत्र हुँदै बैतडी र दार्चुलाको अधिकांश वन क्षेत्रमा बन्न लागेको छ । “कार्यालयले पनि पछिल्लो समय वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको लागि ताकेता गर्ने काम हुँदैछ, योजना प्रमुख पन्तले भने, “विगतदेखि नै कन्सल्टेन्सीले ढिलाइ गर्दै आइरहेको रहेछ । दार्चुला र बैतडीमा केही काम भए पनि कञ्चनपुर रडडेल्धुरा क्षेत्रमा भने ठेक्का लगाउनै सकिएको छैन ।”

महाकाली करिडोरमा जिइओसिई कन्सल्टेन्स्ले इआइएको जिम्मेवारी पाएको छ । जिइओसीका कार्यक्रम संयोजक लक्ष्मीकान्त मण्डलले मन्त्रालयले पछिल्लो समय शुरु गरिएको वाणी बुडर साढे १२ किलोमिटर सडकसमेत इआइए एउटैमा थपेपछि ढिलाइ भएको जानकारी दिए। “महाकाली करिडोरको प्रतिवेदन गत डिसेम्बरमा अन्तिम चरणमा चरणमा पु¥याएका हौँ”, उनले भने, “ वाणी बुडरको काम समेत यही कार्यक्रमअन्तर्गत समेटिएपछि ढिलाइ भएको हो । प्रतिवेदन चाँडो बनाउन आफूहरुसमेत लागेका छौँ ।”

अहिले महाकाली करिडोरअन्तर्गत बैतडीको बाराकोट सिल्लेकमा २२ किलोमिटर, बाराकोट हुँदै डडेल्धुरा जोड्ने जोगबुडा बडागाउँ १५ किलोमिटर साधारण बाटो खुलाइएको छ भने सल्सेन–धरमघर १० किलोमिटर, बेत– उकु–दार्चुला १० किलोमिटर तथा वीरेन्द्र वनदेखि राताकाठा क्षेत्रको सात किलोमिटर क्षेत्रमा साधारण बाटो खुलाइएको दार्चुला–तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाले बताए ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्कर नाका जोड्ने गरी शुरु गरिएको करिडोरको काममा इआइए बाधक बनेपछि अझै यो सडक निर्माणमा ढिलाइ हुुनेमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । कहिले विस्फोटक पदार्थ अभाव तथा कहिले इआइए प्रतिवेदनका कारण सडक निर्माणले गति लिन नसकेको हो ।

योजना प्रमुख पन्तले भने, “यहाँ आएपछि सडक निर्माणलाई तीव्र गति दिने योजना बनाउँदैछु तर कार्यालयको लथालिङ्ग अवस्था, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ढिलाइ तथा निर्माण व्यवसायीको लापर्वाहीले गर्दा थोरै समस्या छ ।

करिडोरअन्तर्गत गत वर्ष रू १९ करोड ९८ लाख ९५ हजार खर्च भएको थियो भने चालू आवको हालसम्म ३९ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

म्याद नथपिएका दर्जन ठेक्का

महाकाली करिडोरअन्तर्गत दार्चुला तिङ्कर सडकमा सञ्चालित एक दर्जन ठेक्काको म्याद थपिएको छैन । हरेक वर्ष ठेक्का लागेका छन् । तर उनीहरुले समयमै काम कसैले गरेका छैनन् । काम लिएर भाग्ने र समय गुजारेर म्याद थप्ने गरेका निर्माण व्यवसायीहरुको भने पछिल्लो समय म्याद थप गरिएको छैन ।

आव ०६७/६८ बाट ठेक्का पाएका निर्माण व्यवसायीहरुले अझै ठेक्का सकेका छैनन् भने उनीहरुको पाँच वर्षयता म्यादसमेत थप गरिएको छैन । हाल दार्चुला तिङ्कर सडकअन्तर्गत १३ वटा ठेकेदार कम्पनीमध्ये दुई वटा कालो सूचीमा छन् भने दुई वटाको समयावधि थपिएको छ

धौलाकोट पुग्दै सडक

आव ०६५/६६ बाट निर्माण शुरु भएको दार्चुला तिङ्कर सडक दश वर्षपछि व्यास गाउँपालिका–५ धौलाकोट पुग्दैछ । यसै आवभित्र व्यास गाउँपालिकाको केन्द्र सुनसेरा सडक पु¥याउने गरी सडकको काम भइरहेको छ ।

पछिल्लो समय विस्फोटक पदार्थ उपलब्ध भएपछि सडकले थोरै गति लिएको हो । अहिले पनि निरन्तर रुपमा काम भइरहेको छ । सदरमुकाम खलङ्गादेखि धौलाकोटसम्म ३५ किलोमिटर सडक पर्छ । कडा चट्टानका कारण लामो समय ब्रह्मदेवको राताकाठा भिर, पीपलचौरीको विजयपुर भिर तथा तङ्ले भिरमा बढी समय लागेको छ । अहिले पनि हुती र धौलाकोट सीमा क्षेत्र नजीकैको डखा भिरको कारण सडक निर्माणमा ढिलाइ देखिएको दार्चुला तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाले बताए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस