प्रधानमन्त्रीमा केपी ओलीको दावी पेश ! कुन-कुन पार्टीका सांसदको हस्ताक्षर बुझाइयो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २८, शुक्रबार (९ महिना अघि)
  • १६८ पटक पढिएको
प्रधानमन्त्रीमा केपी ओलीको दावी पेश ! कुन-कुन पार्टीका सांसदको हस्ताक्षर बुझाइयो ?

असार २८,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगतै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

संसद्‌का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस(एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

राष्ट्रपतिको आह्वानबमोजिम प्रधानमन्त्रीमा दाबी पेस गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । ‘आज दाबी पेस गरिएको छ, नियुक्ति कहिले गर्ने भन्ने राष्ट्रपतिको कुरा हो,’ उनले भने ।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस