असार ३१,काठमाडौँ । केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा धादिङ क्षेत्र नम्बर २ बाट सांसद रहेका रामनाथ अधिकारी कृषि तथा पुशपंक्षी विकास मन्त्री बनेका छन् ।
धादिङको साबिक सुनौलाबजार गाविस तथा हालको नीलकण्ठ नगरपालिका– ६, नेवारपानीमा २०१८ साल भदौ १८ गते जन्मिएका उनी प्रजातान्त्रिक आन्दोलनमा खरो रूपमा उत्रिएका व्यक्ति हुन् । उनी २०३६ सालको जनमतसंग्रह, २०४२ को सत्याग्रहमा कांग्रेसबाट सक्रिय रूपमा सहभागी भएका थिए ।
प्रजातान्त्रिक आन्दोलनमा लाग्दा अधिकारी पटक–पटक जेल सजाय भोगिसकेका छन् । २०४५ साल वैशाख ६ गते उनी प्रहरी गिरफ्तारीमा परे । प्रहरीले चार पाटा मुड्नेसम्मको ज्यादती उनीमाथि गर्यो । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा लागेका उनी २०४६ सालभन्दा अघि जेल तथा पटक–पटक हिरासतमा परे ।
२०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि राजनीतिमा थप सक्रिय भएका उनी आठौँ अधिवेशनमा कांग्रेस धादिङको कार्यसमिति सहसचिवमा निर्वाचित भए । सरकारी सेवा छाडेर पूर्णकालीन राजनीतिमा लागेका थिए । राजनीति उनको रहर नभई समाजसेवाको निष्ठाको रूपमा लिने अधिकारी बताउँछन् ।
उनी कांग्रेसको आठौँ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा चुनिए । २०५३ सालमा नवौँ अधिवेशनमा जिल्ला सभापतिको प्रत्यासी थिए उनी । तत्कालीन जिल्ला सभापति दामन पाख्रिनको २०५४ कात्तिक २६ गते निधन भएपछि जिल्ला नेतृत्वविहीन भयो । नवौँ अधिवेशनमा सभापतिको प्रत्यासी रहेका अधिकारी नै थप अवधिका लागि सभापतिमा चुनिए ।
२०५६ सालमा भएको आमनिर्वाचनमा उनले धादिङ २ नम्बर क्षेत्रबाट सांसदको टिकट पनि पाए । दुईपटकसम्म चुनाव जितेका नेकपा एमालेका उम्मेदवार गंगालाल तुलाधरलाई हराउँदै सांसद बने । तत्कालीन अवस्थामा धादिङमा ३ निर्वाचन क्षेत्र थिए । कांग्रेस धादिङको पाँचपटकसम्म जिल्ला सभापति बनेका अधिकारीले यसअघि २०५५, २०५७, २०६२ र २०६७ सालमा सभापति भएका थिए ।
२०६४ सालको पहिलो संविधानसभा चुनावमा धादिङ २ बाट चुनावी मैदानमा थिए । सो निर्वाचनमा उनले पराजय व्यहोरे । २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले पराजय व्यहोरे ।
२०६२र०६३ को जनआन्दोलन सफल बनाउन जिल्लामा उनले खेलेको उनको कांग्रेस धादिङको संगठन निर्माणमा उनले खेलेको भूमिका उल्लेख्य मानिन्छ ।
२०७२ सालको भूकम्पमा तत्काल राहत तथा उद्धारका लागि उनले देखाएको नेतृत्वदायी भूमिका, तत्परता र सहयोगको अहिले पनि धादिङमा चर्चा हुन्छ । कोरोनाकालमा पनि उनी उत्तिकै सक्रियताका साथ जनसेवामा खटे ।
नीलकण्ठ क्याम्पस स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेलेका उनले क्याम्पस व्यवस्थापन समितिको अध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए । हाल उनी उक्त क्याम्पस सञ्चालक समितिमा छन् । धादिङकै नमुना विद्यालय सुनौलो भैरवी माविका लागि आफ्नो जग्गा निस्शुल्क प्रदान गर्नु, अर्को नमुना विद्यालय नीलकण्ठ माविको शैक्षिक तथा भौतिक विकासमा पुर्याएको योगदानजस्ता कार्यले शैक्षिक अभियान्ताको रूपमा परिचित छन् ।
आफूले जनतालाई गरेको सेवा, जनतासँगको साक्षात्कार, निष्ठा र इमानको राजनीति नै विजयी हुने आधार भएको अधिकारी बताउँछन् ।
उनी हाल नेपाली कांग्रेस धादिङका जिल्ला सभापति हुन् । तीन दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय अधिकारी नेपाली कांग्रेसभित्र इमानदार र सिद्धान्तमा निष्ठावान् नेताको रूपमा परिचित छन् ।
-अधिकारीको विगतबाट