स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ श्रावण ६, आईतबार (९ महिना अघि)
  • ११९ पटक पढिएको
स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

साउन ६,काठमाडौँ । स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो ।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा।सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सामालोचक प्राडा।कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला, गीतकार समाजसेवी सोभित उप्रेति, प्राडा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गरेका थिए ।

गीतकाररनिर्देशक गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रमको प्रमुख अतिथि प्राडा.केसीले दीप प्रज्ज्वलन गरेर समुद्घाटन गरेका थिए । समारोहमा मिलाप प्रकाशनका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए  । स्वागत मन्तव्य राख्ने क्रममा उनले कृति प्रकाशनका बारेमा आफ्ना कुरा राख्दै प्रकाश संस्था जनपक्ष प्रकाशन र यसका प्रमुख साहित्यकार पुण्यप्रसाद शर्मालाई धन्यवाद दिएका थिए ।

कृतिको समीक्षात्मक टिप्पणी गर्दै डा.निरौलाले स्रष्टा दाहालको मूल विधा काव्य भए पनि उनले अन्य क्षेत्रमा त्यतिकै सशक्त रूपमा कलम चालाउँदै आएको बताए । उनले भने, ‘स्रष्टा दाहालको मूल विधा काव्य हो तर उनले अन्य विधामा पनि कलम चलाउँदै आउनुभएको छ । त्यसैको पछिल्लो रूप सिर्जनामा दृष्टि हो’, उनले भने, ‘यस कृतिले स्रष्टा दाहालको साहित्य क्षेत्रमा नयाँ परिचय स्थापित भएको छ ।’ उनले कृतिमा फरक विधाका १६ पुस्तकको भूमिका यसमा समावेश भएको बताए ।

स्रष्टा दहालले कृति कसरी प्रकाशन भयो भन्ने बारेमा आफ्नो भनाइ राख्दै यसको प्रकाशनका लागि जनपक्ष प्रकाशन सिक्किम र यससँग जोडिएका सबैमा धन्यवाद दिए । उनले आफ्नो मूल विधा काव्य नै रहेको स्वीकार गर्दै नयाँ उपन्यासको तयारीमा आफू रहेको जानकारी दिए । उनले साहित्य लेखनमा शब्दको शिल्पीले पूर्णता दिने बताए । उनले आफ्नो सानैदेखि साहित्यमा लगाव भएको बताउँदै धरान नगरपालिकामा-२०२४ मा भएको कविता प्रतियोगितमा दोस्रो प्राप्त गरेको सम्झना गरे  ।

यस्तै, समालोचक प्राडा.कृष्णप्रसाद दाहालले स्रष्टा दाहालको ‘स्वेतपत्र’ महाकाव्यले एउटा उचाइ प्राप्त गरेको बताउँदै पाठकले उहाँसँग त्यस्तै अन्य कृतिको अपेक्षा गरेको बताए । उनले भने, ‘स्रष्टा दाहालले नियात्रा, उपन्यास र कवितामा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । उहाँ सबै कृति सशक्त छन् । अझ मलाई मन परेको कृति ‘स्वेतपत्र’ महाकाव्य हो । यसको उचाइमा अन्य कृतिको पनि पाठकले अपेक्षा गरेका छन् ।’ उनले ‘सिर्जनामा दृष्टि’मा स्रष्टा दाहालले भूमिका लेखनमा कृतिलाई न्याय गरेको आफूले पाएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस