साउन ७,काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्दै छन् ।
हेटौंडामा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार आह्वान गरेका थिए । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनको आह्वान गरेका हुन् ।
नेकपा एमालेको समर्थनमा लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।
मुख्यमन्त्री बन्न लागेका कांग्रेस संसदीय दलका नेता लामा २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा नुवाकोट २ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।