सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न पीडितको निवेदन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १२, शनिबार (८ महिना अघि)
  • १०१ पटक पढिएको
सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न पीडितको निवेदन

साउन १२,काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा पुनरावेदन नगर्न भन्दै पीडित ‘गौशाला २६’ले निवेदन दर्ता गरेकी छन् ।

गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर उनले लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा अब सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन लिखित निवेदन मार्फत माग गरेकी हुन् ।

उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो । उक्त मुद्दाको पूर्णपाठ तयार भएर मंगलबारमात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो । बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलप्रति पनि बुझाएकी छन् । उनले आफू यो मुद्दाका कारण धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो अवस्थामा परेका कारण थप अगाडि नबढोस् भन्ने चाहना राखेर निवेदन दिएको दाबी गरेकी छन् ।

उनले हस्तलिखित निवेदन उच्च सरकारी वकिल कार्यालयमा पेस गरेकी छन् । गौशाला २६ ले आफैँ आएर मुद्दा अघि नबढाउन निवेदन दिएको उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरे । उनले निवेदनबारे थप टिप्पणी भने नगर्ने बताए ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसला सुनाउँदै लामिछानेलाई सफाइ दिएको थियो । उक्त फैसलाको पूर्णपाठ साउन ४ गते सार्वजनिक भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस