त्रिशूलीमा बस बेपत्ता भएको १७ दिन पुग्यो, बसको खोजी रोक्ने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १३, आईतबार (८ महिना अघि)
  • १३१ पटक पढिएको
त्रिशूलीमा बस बेपत्ता भएको १७ दिन पुग्यो, बसको खोजी रोक्ने तयारी

साउन १३,काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको आइतबार १७ दिन पुग्यो ।काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस लेदो माटोसहितको पहिरोले बगाएर त्रिशुलीमा खसालेको थियो ।

दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भए भने २० जनाको शव भेटियो, खोजीका क्रममा भेटिएका ४ वटा शवको अझै सनाखत भएको छैन । बाँकी यात्रु बेपत्ता छन् ।

दुर्घटनामा परेका यात्रुको परिवारजनले आफ्नो परम्परा अनुसार दाहसंस्कार पनि गरिसके । परिवारजनले १३ औं दिनको काजकिरिया गरिसक्दा पनि सुरक्षा निकायले शव खोजी जारी राखेका छन् ।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरेका छन् ।

लगातार १५ दिनदेखि खोजी कार्य गर्दै आएका सुरक्षाकर्मीहरु पनि आजित बनिसकेका छन् । भारतीय टोली आइतवार फर्किने तयारीमा छ ।

निरन्तर रुपमा बसको खोजीमा जुटेका एक सुरक्षा अधिकृत भन्छन्, ‘हामीलाई यी बस भेटिदैन भन्ने थाहा छ, सायद अरुलाई पनि अब थाहा भयो होला, परिवारले पनि आश मारे । तर हामी निरन्तर यसमा लागिरहेका छौं ।’

बसको खोजीमा दैनिक सयौं जना सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । पछिल्लो समय नारायणी नदी किनारमा शव पनि भेटिन छाडेको छ ।

बस र यात्रुको कहिलेसम्म खोजी गर्ने भन्ने अन्योल छ । ती सुरक्षा अधिकृत भन्छन्, ‘यति दिन खोज्ने भन्ने त्यस्तो केही छैन, जबसम्म माथिबाट खोजी अब रोक्नु भनेर आउँदैन तबसम्म हामीले रोक्ने कुरा भएन ।’

ताजा अपडेट

खोजी गर्नुहोस