बागमती प्रदेश: मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १५, मंगलबार (८ महिना अघि)
  • ९४ पटक पढिएको
बागमती प्रदेश: मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

साउन १५,काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज संसदबाट विश्वासको मत लिने छन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ ।

मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज (मंगलबार)का लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् । दिउँसो ३ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल सहित निर्णय हुनेछ ।

सचिवालयका अनुसार बैठकको सुरुवातमा मुख्यमन्त्री लामाले आफ्नो धारणा सहित विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नेछन् भने सो पश्चात् दलगत रूपमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि नेताहरूले धारणा राख्नेछन् ।

दलगत रूपमा सांसदहरूको धारणा राखेसँगै मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन गर्ने संसद्को कार्यसूची रहेको छ । हस्ताक्षर सहितको मत विभाजनमा सांसदहरूले मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्ष, विपक्ष वा तटस्थमा मत दिने सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री लामाले आफूलाई विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्र सहितका विपक्षी दलहरूलाई आग्रह गरेका छन् । लिखित रूपमा सबै दलहरूलाई पत्राचार गरेर उनले आफूलाई विश्वासको मत दिन विपक्षी दलहरूलाई आग्रह गरेका छन्

उनले माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, राप्रपाका संसदीय दलका नेता उद्धव थापा, नेमकीपाका संसदीय दलका नेता सुरेन्द्रराज गोसाई, हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यसँग विश्वासको मत माग्दै पत्र पठाएका हुन् ।

साउन १२ मा एक विना विभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले एमालेका ६ र कांग्रेसका ८ जनालाई मन्त्री नियुक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस