साउन २१, काठमाण्डौँ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकको खुद नाफा उल्लेख मात्रामा बढेको छ ।
समीक्षा अवधिमा बैंकले ३ अर्ब ७७ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २६७.१९ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब २ करोड रुपियाँ खुद नाफा कमाएको थियो।
त्यस्तै, अघिल्लो आवको तुलनामा गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेर ८ अर्ब ९१ लाख रुपियाँ, खुद फि तथा कमिशन आम्दानी ३१.४५ प्रतिशतले बढेर १ अर्ब ५४ करोड रुपियाँ पुगेको छ ।
साथै, बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशतले बढेर ९ अर्ब ९४ करोड रुपियाँ र सञ्चालन मुनाफा १७७.३१ प्रतिशतले बढेर ५ अर्ब ६९ करोड रुपियाँ पुगेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४.१५ रुपियाँ बढेर १९.४५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५९.४१ रुपियाँ र मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १९ करोड रुपियाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६.१८ रुपियाँ रहेको छ।
१९ अर्ब ४० करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपियाँ सञ्चित छ । यस अवधिमा बैंकको निक्षेप २१.३६ प्रतिशतले बढेर २ खर्ब ११ अर्ब २४ करोड रुपियाँ पुगेको छ भने कर्जा १८.५८ प्रतिशत बढेको छ ।