रहिम स्ट्रर्लिङ्गको ह्याट्रिकमा म्यानचेस्टर सिटीको प्रभावशाली जित, उपाधि होड बलियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन २६, आईतबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुन २६, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको साबिक विजेता म्यानचेस्टर सिटीले आफ्नो सम्भावना थप बलियो बनाएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा वाट्फोर्डमाथि ३–१ को जित निकाल्दै पेप गार्डिवलाको टिम सिटीले दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी चार बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा जित निकाल्ने क्रममा सिटीका लागि तीनै गोल रहिम स्ट्रर्लिङ्गले गरे । वाट्फोर्डका लागि जेर्राड डेउलाफेउले एक गोल फर्काए ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दुवै तर्फबाट गरि चारै गोल दोस्रो हाफमा भएको हो । स्ट्रर्लिङ्गले दोस्रो हाफको सुरुको १३ मिनेटभित्र ह्याट्रिक पूरा गरेका हुन् ।

४६ औँ मिनेटमा पहिलो गोल गर्दै सुरुवाति अग्रता दिलाएका रहिमले ५० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ५९ औँ मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । वाट्फोर्डका लागि ६६ औँ मिनेटमा डेउलाफेउले एक गोल फर्काए ।

जितपछि शीर्षस्थानको सिटीको ३० खेलबाट ७४ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलको चार अंक कम अर्थात ७० अंक छ ।

शनिबार राति नै भएको अर्को खेलमा भने उपाधि होडबाट बाहिरिएको तेस्रो स्थानको टोटनह्याम पराजित भयो । अवे मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम साउथह्याम्पटनसँग २–१ ले पराजित भएको हो । हारपछि टोटनह्यामको ३० खेलबाट ६१ अंक भएको छ ।

अरु खेलमा ब्राइटनले क्रिष्टल प्यालेसलाई २–१, कार्डिफले वेष्ट ह्याम तथा बोर्नमाउथले हडर्ल्सफिल्ड टाउनलाई समान २–०, लेस्टर सिटीले फुलह्यामलाई ३–१ तथा न्युक्यासलले एभर्टनलाई ३–२ ले हराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस