थामेखोलामा बाढी

दुईवटा पोखरी फुटेपछि थामेखोलामा बाढी, अझै जोखिम रहेको निष्कर्ष

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १, शनिबार (८ महिना अघि)
  • १४४ पटक पढिएको
दुईवटा पोखरी फुटेपछि थामेखोलामा बाढी, अझै जोखिम रहेको निष्कर्ष

भाद्र १,काठमाडौँ । थामे गाउँ माथि रहेको दुईवटा पोखरी फुटेर थामे खोला र दुधकोशी नदीमा बाढी आएको स्थलगत अध्ययन टोलीले निष्कर्ष निकालेको छ । शुक्रबार करिब दुई बजेको समयमा जिल्ला सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे स्थित थामे खोलामा पानीको बहाव बढेको थियो ।

रक्षामन्त्री मानवीर राईसहितको अध्ययन टोलीले अझै २ वटा पोखरी उच्च जोखिममा रहेको जानकारी दिएको हो । बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको थियो ।

टोलीमा रहेकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भनिन्, ‘स–साना पाँचवटा ताल रहेछन्, त्यसमध्ये दुईवटा फुटेको रहेछ । अरु दुईवटा जोखिममा देखियो । एउटा भने सुरक्षित रहेको छ ।’

यसले दुधकोशी नदी तटीय क्षेत्रमा जोखिम कायम रहेकाले सचेत रहन अनुरोधसमेत गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने जनाएको थियो ।

थामे खोलामा एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठुला गरी ६ वटा हिमताल तथा हिमपोखरीहरू रहेको विज्ञप्तिमा उल्लेख थियो । यस्तै उक्त क्षेत्रको नजिक रहेको फोर्त्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिमि वर्षा मापन भएको र साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको पाइएको विज्ञप्तिमा उल्लेख छ । तापक्रम बढ्दै जाँदा साउन ३१ गतेको अधिकतम तापक्रम १५।९ डिग्री सेल्सियस पुगेको विभागको भनाइ छ ।

‘अतः माथि उल्लेख भएबमोजिमका विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस