भाद्र ६, काठमाडौँ । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा यहाँ भने सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकार बाहिर छ । सत्ता साझेदारीका विषयमा पटक–पटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन् ।
कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले दलहरुबीच मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न बाँकी रहेको बताए । ‘मुख्यमन्त्री र एमाले संसदीय दलका नेताबीच र दुवैतर्फको कार्यदलस्तरमा छलफल भइरहेको छ’, उनले भने, ‘छिट्टै सहमति जुट्ने विश्वास छ, अब पनि ढिलो गरियो भने अनावश्यक आशङ्का पैदा हुन्छ ।’ यहाँ कांग्रेस संसदीय दलका नेता सरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ ।
मुख्यमन्त्री पाण्डेले अहिलेको सरकारमा मन्त्री रहेका नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई समेत समेटेर सरकार पुर्नगठन गर्न चाहेको प्रदेशसभा सदस्य सुवेदीले बताए । ‘उहाँहरु दुवैलाई सरकारमा साथै लिएर जानुपर्छ भन्नेमा काँग्रेस स्पष्ट छ, संसदीय दलले पनि यही निर्णय गरेको छ’, उनले भने, ‘हिजो अफ्टेरो घडीमा सरकारलाई साथ दिनु भएका प्रदेशसभा सदस्यलाई कांग्रेसले सरकार बाहिर राख्न सक्दैन ।’
प्रदेशसभा सदस्य देवकोटा र गुरुङको निर्णायक समर्थनमा मुख्यमन्त्री पाण्डेले गत जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत पाएका थिए । एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले छलफल औचित्य पुष्टि हुने गरी मन्त्रालय थप गर्ने विषयमा एमाले सकारात्मक रहेको बताए ।