भाद्र ८,काठमाडौँ । तनहुँ बस दुर्घटनामा मृृत्यु भएकाको शव लिन भारतीय सेनाको जहाज चितवनस्थित भरतपुर विमानस्थल आएको छ। मृतक २७ जनाकै शव भारत लैजान सेनाको जहाज आएको हो। नेपालमा बस दुर्घटनामा मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिनेछ । शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।
सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।