उत्तर कोरियाली नेताका सौतेनी दाईको हत्या अरोपी थुनामुक्त

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन २७, सोमबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २७, काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाई किम जोङ नामको हत्या गरेको आरोपमा थुनामा रहेकी इन्डोनेशियाकी एक महिलालाई सोमबार रिहा गरिएको छ ।

इन्डोनेशियाकी नागरिक सिती अल्स्यान विरुद्ध दर्ता गरिएको मुद्धा फिर्ता भएकाले मलेशियाबाट उनलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।

सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा ‘भीएक्स नर्भ एजेन्ट’ भनिने विषालु पदार्थ दलिदिएको आरोपमा उनी र अर्की भियतनामकी महिला डोन थी हौङलाई थुनामा राखिएको थियो ।

लामो समयपछि अल्स्यानको मुद्दामा प्रतिवादी पक्षको सुनुवाइ सुरु हुन लागेकै बेला मुद्दा फिर्ता भएको हो । सो मुद्दा हेरिरहेका अभियोजनकर्ताले कुनै कारण स्पष्ट नपारी सिती अल्स्यान विरुद्धका मुद्दाहरु फिर्ता गर्न अनुरोध गरेका थिए ।

इन्डोनेशियाका कानुनमन्त्रीलाई पठाइएको एउटा पत्रमा मलेशियाका महान्यायाधिवक्ताले दुई देशबीचको सुमधुर सम्बन्धमा असर नपार्नका लागि मुद्दा फिर्ता लिइएको उल्लेख गरेका छन् ।

सरकारी अभियोजनकर्ताको आग्रह अनुसार न्यायाधीशले मुद्दा फिर्ता लिन स्वीकार गरेपनि अल्स्यानलाई लागेको आरोपबाट सफाइ भने दिइनसकिएको अधिकारीहरुले बताएका छन् ।

इन्डोनेशियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन् । उनीहरुले एउटा टीभी कार्यक्रमका लागि आफुहरु त्यहाँ गएको बताउदै आएका थिए ।

सोमवार हौङको बयान हुन लागेको थियो । अल्स्यानको मुद्धा फिर्ता भएपनि हौङको बयान भने पछाडी सारिएको छ ।

मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका बेला किममाथी आक्रमण भएको थियो । आक्रमणको २० मिनेटमै उनको मृत्यु भएको थियो ।

क्वालालम्पुर विमानस्थलको सीसीटीभी दृष्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिलाहरू गएको देखिएको छ ।

त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुवै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको अधिकारीहरुले बताएका छन् ।

एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस