दुई महिनामै दुई लाख पर्यटक भित्रिए

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २७, सोमबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २७, काठमाडौँ । काठमाडौँ । सन् २०१९ को दुई महिनामै २ लाख १६ हजार २१४ बाह्य पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् ।

फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । सो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो । सन् २०१८ को दुई महिनामा एक लाख ६३ हजार ६९४ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए । अघिल्लो वर्षको फेब्रुअरीमा ८९ हजार ५०७ बाह्य पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरीमा ९१ हजार ७९३ बाह्य पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

फेब्रुअरीमा मात्रै भारतबाट नेपाल आउने बाह्य पर्यटकको सङ्ख्या ९२.५ प्रतिशतले बढेको छ । सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ । चिनियाँ पर्यटक ५.३ प्रतिशतले मात्रै बढेको छ ।

युरोपियन मुलुक, बेलायत, जर्मनी र फ्रान्सबाट नेपाल आउनको सङ्ख्या क्रमशः ८.७, २७.९ र ७।६ प्रतिशतले बढेको छ । सन् २०१९ को फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको सङ्ख्या १७ हजार ७८९ पुगेको छ ।

सो अवधिमा अमेरिकाबाट सात हजार १३३ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्ड तथा निजी क्षेत्रले गरेको प्रवद्र्धनात्मक गतिविधिका कारण बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए ।

गत वर्षको तुलनामा यस वर्षको दुई महिनामा ४० प्रतिशतले बाह्य पर्यटक आगमन बढेकाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउन थप प्रवद्र्धनात्मक कार्यक्रम गरिने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस