फागुन २७, ललितपुर । भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले छिट्टै ललितपुरदेखि मकवानपुर जोड्ने पुलको बोलपत्र आह्वान गरिने बताएका छन् ।
गोदावरी नगरपालिकाले तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री महासेठले आगामी जेठ मसान्तसम्ममा कान्ति राजपथ निर्माणको अर्को बोलपत्र पनि आह्वान गर्ने तयारी अघि बढेको जानकारी दिए ।
चालू आवमा बर्दिवासदेखि निजगढसम्म सडक निर्माण सम्पन्न गरिने बताउँदै उनले काठमाडौँ–केरुङमार्ग जोड्ने सडक निर्माणमा सरकार अघि बढेको जानकारी दिए । देशभर विकासको गति अघि बढाउन यस वर्षभित्र आठ लेन, चार लेन र दुई लेनका ६ हजारदेखि आठ हजार सडक तथा करीब ४०० पुल पनि बन्ने उनले बताए । ‘सिङ्गापुर बन्न तीस वर्ष लाग्यो, नेपाल अबको चार वर्षभित्र सुन्दर र समृद्ध बन्नेछ’, उनले भने । चार वर्षभित्र सङ्घीय सरकारले एक हजार पाँच सय किमी सडक र दुई हजार आठ सय किमी रेलमार्ग निर्माण गर्ने जिम्मा लिएको पनि उनले बताए ।
नेपालमा भौतिक पूर्वाधारमध्ये सडककै समस्या रहेको बताउँदै सडक विस्तार र मर्मतका लागि क्षतिपूर्ति र मुआब्जा दिएर काम अघि बढाइने उनले स्पष्ट गरे । विकासमा रकम कम हुन नदिइने बताउँदै उनले काम भने समयमै पूरा हुनुपर्नेमा जोड दिए । उनले बजेटको सदुपयोग गरेर गोदावरी नगरपालिकाको विकास गर्न त्यहाँका सम्पूर्ण पदाधिकारीलाई आग्रह गरे । त्यहाँका १४ वटै वडाका जनप्रतिनिधिलाई अति आवश्यक काममा मात्र बजेट खर्च गर्न आग्रह पनि गरे ।