भाद्र २१, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्। आफ्नो निवास खुलमटारमा पुगेकी पलेशालाई प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल भएको भन्दै सम्मान गरेका हुन्।
उनले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गरेका थिए।
सो क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिंदै यो जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको बताए।
‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभरि रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ’, उनले भने, ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबर्धन गर्छ, त्यसैले पलेशाको यो जीत अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जीत हो ।’