दसैंमा नयाँ नोट नपाइने, चल्तीकै सफा र सुकिलोले काम चलाउनु पर्नेे

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २१, शुक्रबार (७ महिना अघि)
  • ६० पटक पढिएको
दसैंमा नयाँ नोट नपाइने, चल्तीकै सफा र सुकिलोले काम चलाउनु पर्नेे

भाद्र २१, काठमाण्डौँ ।  नेपाल राष्ट्र बैंकले यस पटकको दसैंमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यस पटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।

‘नोट सटहीका लागि विगत वर्षहरूमा हामीले जसरी दिइरहेका छौँ, त्यसमा केही परिवर्तन भएको छैन । तर यस वर्ष नयाँ नोट नभई सफा र सुकिलो नोट सटही गर्ने निर्णय भएको छ’, पोखरेलले भने, ‘सुकिलो बैंक नोट कहाँ, कैले, कसरी, कति सटही पाइन्छ ? जस्ता विषयमा राष्ट्र बैंकले चाँडै सूचना सार्वजनिक गर्नेछ ।’ सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो । सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापन समेत झण्झटिलो हुने गरेको थियो ।

दसैंको मुखमा सटही गरिएका नोट उक्त चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र तत्पश्चात ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराई बताउँछन् । ‘विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन् । ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रने तथा कुहिने अवस्था सृजना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हो’, उनले भने ।

नेपाली नोटकोे कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ । यस्तो हुँदा नोटको आयु समेत घट्दै जाने भई पुनःप्रयोग गर्न अयोग्य हुन सक्दछ । साथै, बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हातहातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ । यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यहरूलाई मितव्ययी एवंं प्रभावकारी बनाउन समेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक रहेको निर्देशक भट्टराईले बताए ।

चाडबाडका समयमा मुख्यतयाः रु ५, १०, २०, ५० र १०० दरका नोटहरूको माग अत्यधिक हुने गरेको छ । साना दरका यस्ता नोटको होल्डिङ लागतसमेत न्यून हुने हुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटही गरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलन रहेको पाइन्छ । रु पाँच सय र एक हजार दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाड लक्षित कारोबार अनुरुप माग हुने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस