असोज १, काठमाडौँ । एक महिनामै ६६ वटा परियोजनाका लागि ४ अर्ब बढीको वैदेशिक लगानी प्रवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को भदौ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
भदौ महिनामा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रसहित ४ अर्ब ११ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । एसपिए तथा एसएसएका लागि ७ वटा परियोजना मार्फत २८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
महिनामा आएको लगानी प्रतिवद्धता आएका उद्योगहरु संचालनमा आउँदा १६२ जनाले प्रत्यक्ष रोजगार पाउने विभागले उल्लेख गरेको छ । भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।
चालु आवको दुई महिना (साउन र भदौ) मा भने १७३ वटा परियोजनका लागि १३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । दुई महिनामा १२ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको हो । दुई महिनामा प्रतिवद्धता आएको उद्योग संचलानमा आए ४८५ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।