फागुन ३०,काठमाडौँ । धादिङको मुख्य सडक अन्तर्गत रहेको भिमढुंगा–लामिडाँडा सडक र सितापाईला धार्के सडकको विषयमा स्थानियले प्रदेश सभा ३ का साँसद राजेन्द्र पाण्डेसंग छलफल गरेका छन । सडकको दुरावस्थाकै कारण दिनप्रतिदिन स्थानियले समस्या भोग्दै आएका कारण छिटोभन्दा छिटो सडक स्तरोन्ती गरेर समस्या समाधान गर्न स्थानियले नेकपाका केन्द्रिय सदस्य समेत रहेका प्रदेश सांसद राजेन्द्र पाण्डेलाई आग्रह गरेका हुन । बहुबर्षिय ठेक्कामा गएका दुवै सडक केन्द्रले बनाउन नसक्नै भन्दै प्रदेशलाई जिम्मा लगाएपछि सडक बन्ने अनिश्चितता भएको थियो । आर्थिक बर्ष २०७३/७४ मा अर्थ मन्त्रालयबाट सितापाईला–धार्के सडकलाई २३ करोड सुनिश्चितता भएको थियो भने भिमढुंगा–लामिडाँडा–ठुलो खोला–दमाहाढुंगा सडकलाई १७ करोड १० लाख सुनिश्चितता भएको थियो । यी दुई सडकबाहेक अन्य ६ सडकसमेत केन्द्रले बनाउन नसक्ने भन्दै प्रदेशलाई जिम्मा लगाएको थियो ।
सडक निर्माण कसले गर्ने भन्नेमा विवाद भएपछि……
नेता राजेन्द्र पाण्डेले छलफलको क्रममा आफुले आठ ओटा सडकको विषयमा निर्णय गर्न दवाव दिएपनि दुई वटा सडकलाई विशेष ध्यान दिएको बताए । उनले भने–केन्द्रले सक्दिन भनेपछि मै लागे,तपाईहरुलाई म बताउ, मैले आठ ओटा सडकमध्येपनि भिमढुंगा–लामिडाँडा सडक र धार्के–सितापाईला सडकलाई केन्द्र मातहत नै ल्याउनुपर्छ र केन्द्रले नै काम पुरा गर्नुपर्छ भनेर लागे । यो क्रममा मैले मन्त्री रघुविर महासेठ्ठलाई समेत पटक–पटक भेते,तर उहाँले मलाई के भन्नुभयो भने–तपाईले प्रदेशको मुख्यमन्त्रीस्तरबाट निर्णय गरेर नल्याएसम्म मेरो केही चल्दैन, प्रक्रियामा जानुस् । उताबाट गरेर ल्याउनुभयो भने म गर्छु भने । नेता पाण्डेले भने–मन्त्री ज्यूले नै त्यसो भनेपछि मैले प्रदेश सांसदको हैसियतले प्रदेशको भौतिक योजना मन्त्रालय हुँदै मुख्यमन्त्रीको कार्यालयमा लगेर निर्णय नै गराए । यसको लागी अब बल्ल प्रक्रिया पुगेको छ । अब संघमा प्रदेशको मुख्यमन्त्री कार्यालयबाट पत्र आएको छ । मन्त्री ज्यूले अबको एक हप्ताभित्र काम सुरु हुन्छ भन्नुभएको छ । तपाईहरु ढुक्क हुनुहोस् ।
दुवै सडकमा पप्पुकै ताल
भिमढुंगा–लामिडाँडा सडक र धार्के–सितापाईला सडकमा खण्ड–खण्ड गरेर ठेकेदारले ठेक्का पाएका छन । भिमढुंगा–लामिडाँडा सडकको जिम्मा जयबाबा नार्गाजुन नाना कन्सट्रक्शनले पाएको थियो भने धार्के सितापाईला सडक अन्तर्गत ठुलोखोला–धार्के सडकको जिम्मा कोशी एण्ड न्यौपाने कन्सट्रक्शनले पाएको थियो । यी दुवै ठेकेदारलाई पटक–पटक बोलाएर आफुले काममा ढिलासुस्ती नगर्न नेता पाण्डेले निर्देशन दिएका थिए । तर बहुबर्षिय ठेक्का लागेको सडकमा बजेट अनुसार काम हुन नसकेपछि आर्थिक बर्ष ७३/७४ पछि बजेट छुट्टिएन् जसको कारण सडक अलपत्र अवस्थामा परेको हो ।–भन्छन सडक डिभिजन कार्यालय भरतपुर अन्तर्गत धादिङ जिल्लाका सडक हेर्ने ईन्जिनियर हरी ठकुरी । स्थानीय बासिन्दाले भने दुईवटै सडकमा पप्पुकै तरिका अपनाइएको जिकिर गरे । उनिहरुले विना साधन र स्रोत भएकालाई ठेक्का दिनु नै गलत भएको बताए । नेता राजेन्द्र पाण्डेले ठेक्का प्रणालीमै सुधार ल्याउनुपर्नेमा जोड दिँदै सबैभन्दा कम रकममा ठेक्का बोलेर काम नगर्ने प्रवृतीले नेपालको विकास कैयौ बर्षसम्म पनि यस्तै अवस्थामा रहने जिकिर गरे ।
बल्ल प्रक्रिया सकियो अब निर्णय आउला ?
सुरुमा केन्द्र सरकारले बनाउन नसक्ने भन्दै पत्र पठाएपछि प्रदेशले पनि केन्द्रले बहुबर्षिय ठेक्का लगाएर बजेट सम्म विनियोजन गरेका कारण यसको सम्पुर्ण जिम्मा केन्द्रले नै लिनुपर्ने बनाउन प्रदेशले ३ महिना कागजी प्रक्रियामा नै बितायो । सुरुमा कुन सरकारले बनाउने विवाद प्रमुख थियो भने अव भिमढुंगा–लामिडाँडा सडक र धार्के सितापाईला सडक केन्द्रले नै बनाउन पर्ने अवस्था आएको छ । अबको केही दिनमै मन्त्रीपरिषद्को निर्णयले स्विकृत गरेमा यी सडकमा आगामी बर्षमात्रै बजेट बिनियोजन भएर काम अघि बढ्नेछ ।
ठेकेदार फेरी उही ?
छलफलमा ठेकेदारको काम गराईबाट आक्रान्त स्थानीयले ठेकेदार नै परिवर्तन गर्नुपर्ने बताएपनि त्यो सम्भावना नरहेको नेता पाण्डेले बताए । उनले फेरी ठेकेदार छान्न लागियो भने सडक बन्नेमै अनिश्चितता आउने बताए । उनले भने–बरु सरकारले कडा निगरानीमा राखेर बैकल्पिक राजमार्गको रुपमा काम अघि बढाउन पर्छ,ठेकेदार परिवर्तनमा लागियो भने नयाँ आउने ठेकेदारले कुनै मेसो पाउदैन ।अहिलेका कम्पनीले पनि कामै नगरेका होईनन्, बजेटको सुनिश्चितता नभएकै कारण उनिहरुले काम गर्न नसकेका हुन् । उनले धार्के–सितापाईला सडक खण्डलाई मात्रै बैकल्पिक राजमार्ग नभनी भिमढुंगा–लामिडाँडा हुँदै गल्छी सम्म सडक पक्का गरेर दुईटै सडकलाई बैकल्पिक राजमार्गको रुपमा विकसित गरिनुपर्ने धारणा राखे ।
सडक बन्ने आशले स्थानीय सांसदकोमा धाउदै
केही दिन अघिमात्रै स्थानीयवासी भिमढुंगा–लामिडाँडा सडक खण्ड र धार्के–सितापाईला सडकको विषयमा छलफल गर्न धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भुमी त्रिपाठीलाई भेट्न पुगेका थिए । आजपनि नेता पाण्डेकोमा सडकको अवस्थाका बारेमा छलफल गर्न धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य,उपप्रमुख निरु खरेल,वडा नम्बर १ का अध्यक्ष चन्द्र तामाङ, नेकपा नेता कुमार पाण्डे,दिपक ठकुरी लगायत सरोकारवाला व्यक्तिहरु पुगेका थिए ।
प्रदेश ३ का सांसद तथा नेकपा नेता राजेन्द्र पाण्डेको सक्रियतामा प्रक्रियागत कामहरु हेर्नसक्नुहुन्छ ।