असोज १४, काठमाडौँ । काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्र पेट्रोल पम्प बन्द हुने भएको छ ।
दशैंमा इन्धन अभाव हुन नदिने विषयमा नेपाल आयल निगमले शुक्रबार डिलरहरुलाई बोलाएर छलफल गरेको थियो । उनीहरुसँगको छलफलमा दशैंको दुई दिन मात्र काठमाडौंमा पेट्रोल पम्प बन्द गर्न सहमति बनेको छ ।
नेपाल आयल निगमका एक अधिकारीले दशैंको टिकाको दिन अर्थात असोज २६ र २७ गतेमात्र बन्द गरिने तयारी भएको छ । यसको आधिकारिक जानकारी केही दिनमै विज्ञप्ति निकालेर सार्वजनिक गर्ने तयारी निगमले गरेको छ ।
यस्तै उपत्यका बाहिर भने डिलरहरुसँग कुन कुन दिन बन्द गर्न चाहेका हुन् भनेर जवाफ निगमले माग गरेको छ । उनीहरुको जवाफपछि उपत्यका बाहिर पनि कति दिन बन्द हुने भन्ने तय हुने ती अधिकारीले बताए ।
#पेट्रोल पम्प