बिजुली बेचेर दुई महिनामै नेपालले कमायो ७ अर्ब ५४ करोड ६१ लाख

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन २३, बुधबार (६ महिना अघि)
  • ८९ पटक पढिएको
बिजुली बेचेर दुई महिनामै नेपालले कमायो ७ अर्ब ५४ करोड ६१ लाख

असोज २३,काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको हो ।

जसअनुसार प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । यस्तै भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ ।

दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ भने साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो । यसैगरी भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस