असाेज २९, काठमाडौं । चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको तथ्याङ्कअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमवलव ०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव १९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमश ९ दशमलव ७७ प्रतिशत ७ दशमलव १९ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ८० प्रतिगत, तरकारीको ९ दशमलव ८४ प्रतिशत, खाद्य पदार्थको ९ दशमलव ३० प्रतिशत र फलफूलको ४ दशमलव ९४ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २ दशमलव ६९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।