रवि लामिछानेलाई दुव्र्यवहार गरेको भन्ने हल्ला गलत : प्रहरी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ कार्तिक ११, आईतबार (५ महिना अघि)
  • ७८ पटक पढिएको
रवि लामिछानेलाई दुव्र्यवहार गरेको भन्ने हल्ला गलत : प्रहरी

कात्तिक ११,काठमाडौँ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले अनुसन्धानका क्रममा दुव्र्यवहार गरेको भन्ने हल्ला गलत रहेको जनाएको छ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा पक्राउ परेका लामिछानेलाई रास्वपाका नेताकार्यकर्ताले प्रहरीले आफ्ना सभापतिलाई अनुसन्धानका क्रममा धम्काएको, हिरासतमा दुव्र्यवहार गरेको र इजलासमा हतियार सहित प्रवेश गरेको भन्दै प्रचार गरेपछि कास्की प्रहरीले त्यसको खण्डन गरेको हो।

रास्वपाका नेताहरुले आफ्ना सभापतिमाथि दुव्र्यवहार गरेको दाबी गर्दै आएका छन्। शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पनि लामिछानेलाई अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको बताएको थियो।

उक्त कुराको कास्की प्रहरीले आइतबार सूचना जारी गर्दै सत्य नभएको दाबी गरेको हो।

सूचनामा लेखिएको छ, ‘पूर्व उपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछानेलाई प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, ईजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुव्र्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटक लगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ।’

ताजा अपडेट

खोजी गर्नुहोस