कार्तिक १२, काठमाण्डौँ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानमा यहि २०८१ साल कात्र्तिक १२ गते सोमबारका दिन एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशाला आयोजना गरेको छ । एस्थेटिक अकुलोप्लाष्टि भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ । शल्यक्रिया या अन्य उपचार पद्धतीबाट सुधार एवम् परिवर्तन ल्याउन मद्धत गर्ने विषय भएकाले यस प्रतिको चाँसो नेपाली समाजमा बढ्दो छ । यसै तथ्यलाई आधार मान्दै एस्थेटिक अकुलोप्लाष्टिका ३ अन्तर्राष्ट्रिय विज्ञहरुले प्रयोगात्मक प्रशिक्षण दिने कार्यशालामा देशभरका विभिन्न स्थानबाट आँखा रोग विशेषज्ञ र आवासिय चिकित्सकहरुले सहभागिता जनाएका छन् । अन्तर्राष्ट्रिय विज्ञहरुमा फिलिपिन्सबाट डा. इभेट सान्टियागो, मलेसियाका डा. एलिस गोह् र सिंगापुरका डा. स्टेफेनीइ योङ रहेका थिए ।
कार्यशालालाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले अकुलोप्लाष्टि अन्तर्गत बोटक्स तथा फिलरजस्तो सुविधा शुरु गर्ने मार्गमा यस कार्यशाला आयोजना हुनु निकै उत्साहजनक विषय भएको बताएका छन् ।
हाल तिलगंगामा डेढो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्याधिक आँशु आउने समस्या, थाइरोइडबाट हुने आँखाको लिडको समस्याको उपचार बोटक्स इन्जेक्सनबाट निवारण भइराखेको छ । यस कार्यशाला पश्चात थप सेवाहरु प्रदान गर्न सकिने छ जसमा बोटक्सबाट अनुहारको चाउरीपन, घाँटीको चाउरीपन, लगायत अन्य आँँखा समस्याको उपचार गर्न सकिनेछ । यस्ता उपचारहरु चिकित्सकको निर्देशन अनुसार समय–समयमा गर्नुपर्ने हुन्छ ।