कार्तिक १३, काठमाडौँ । आज धनतेरस पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस मनाइन्छ । तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन र चाँदीका गहना वा सिक्का तथा तामा पित्तललगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ । यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ ।
बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले धनतेरस अर्थात् धन त्रयोदशी पर्व मंगलबार नै मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने कागतिहार भने बुधबार परेको छ। त्रयोदशीकै साँझ गरिने यमदीपदान बुधबार साँझ गरिँदैछ । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका अनुसार बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुने शास्त्रीय नियम छ । धनतेरस पर्व छिमेकी मुलुक भारतमा धुमधामका साथ मनाइन्छ । नेपालमा भने यो चलन केही वर्षयता मात्र भित्रिएको हो ।