चैत्र ३,विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आयोजक नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह बीको अन्तिम खेलमा श्रीलंकालाई ५–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन भारत समूह विजेता बनेको छ ।
श्रीलंका भने उपविजेता रहृयो । नेपाल समूह एको विजेता हो । भारतले सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
विराटनगरको शहिद रंगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकामाथि पूरै दबावमा राख्यो । उसले चौथो मिनेटमा नै खेलमा अग्रता लिएको थियो । सन्जुले प्रहार गरेको बल बारमा लागेर फर्किएपछि ग्रेस दङमीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।
तीन मिनेटपछि भारतले अर्को गोल गर्यो । सन्जुले निकालेको पासमा सन्धिया रंगनाथनले गोल गरिन् ।
भारतले निकै राम्रो गोल गर्ने अवसर निकाल्दा श्रीलंकाले भने कुनै मुभ नै बनाउन सकेन । खेलको ३६औं मिनेटमा भारतकी इन्दुमथी कठिरेसनले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् ।
४५औं मिनेटमा गोल संगिता बस्फोरेले पेनाल्टीबाट गोल गरिन् । सन्जुले प्रहार गरेको बल श्रीलंकाकी डिफेन्डर रुसानी गुनावर्दनेले डिबक्सभित्र हृयाण्ड गरेपछि भारतले पेनाल्टी पाएको थियो ।
पहिलो हाफमै चार गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ४७औं मिनेटमा रतनबाला देवी नोङमाइथेनले गोल गर्दै भारतलाई ५–० अग्रता दिलाइन् । उनले सन्धियाको पासमा गोल गरेकी थिइन् ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा थोरै सुस्ताएको भारतले अन्तिम समयमा आक्रमक खेल खेलेको थियो तर गोल गर्न भने असफल रहृयो ।
सेमिफाइनल बुधबार हुँदैछ । पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग विहान ११ बजे प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशसँग ३ बजे प्रतिस्पर्धा गर्दैछ ।