साग बेचेरै लखपती ! ‘साग मेरा लागि लाख कमाउने माध्यम बन्यो’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ४, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र ४,म्याग्दी। म्याग्दीमा साग बेचेर एक किसानले रु एक लाखभन्दा बढी कमाइ गर्न सफल भएका छन । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट खबराका ६१ वर्षीय चन्द्रबहादुर कार्कीले साग बेचेर मात्रै वार्षिक रु एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन ।

म्याग्दीमा नै सबैभन्दा बढी साग उत्पादन गर्ने जिल्लाका अगुवा कृषक कार्कीले मुख्य याममा दैनिक ५० किलोसम्म साग बेच्छन् । आफ्नै सीप र अनुभवबाट साग उत्पादन गर्दै आएका कार्कीलार्ई गाउँमा सडक पुगेपछि झन सजिलो भएको छ । हाडेभीर–लभ्लीहिल–भकुण्डे जोड्ने सडक बनेपछि गाउँको कृषि उत्पादनले बजार पाउनुका साथै उत्पादित तरकारी समयमा नै बजारमा पु¥याउन सहज भएको हो ।

कार्कीले मार्फा रायो, स्थानीय रायो, फापर, चमसुरलगायत जातका साग लगाएका छन । चार देशकदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका कार्कीको घर अगाडि र छेउको गरी चार रोपनी जग्गा सागले भरिएको छ ।

“बजारमा सागको माग छ, खबरा लभ्लीहिलको साग भनेपछि सबैको रोजाइमा पर्छ ”, कार्कीले भने, “पहिले–पहिले साग त्यत्तिकै कुुहिएर जान्थ्यो, गाईवस्तुलाई खुवाउनुपथ्र्यो, सिन्की बनाउने चलन थियो, अहिले यही साग मेरा लागि लाख कमाउने माध्यम बनेको छ ।” अहिले साग प्रतिकिलो रु ३५ देखि रु ४० सम्ममा बिक्री हुन्छ । सागसँगै कार्कीले अन्य तरकारी बाली पनि उत्पादन गर्दै आएका छन ।

काउली, बन्दागोभी, गाजर, धनियाँ पनि बेच्नुहुने कार्कीले तरकारी बिक्रीबाटै घरखर्च गरेर राम्रै सम्पत्ति जोडन सफल भएका छन । उनको परिवारले पनि खेतीपातीमा सघाउँदै आएको छ । उनकी श्रीमती र छोरा नारायण दैनिक कृषि उत्पादनमा खट्ने गर्छन् । उनी व्यावसायिक केरा खेतीलाई पनि अघि बढाउने योजनामा छन । साविकको जिल्ला कृषि विकास कार्यालयबाहेक अन्य कुनै निकायबाट सहयोग नपाएको कार्कीको गुनासो छ ।

खबराका अन्य किसानले पनि व्यावसायिक साग खेती गर्दै आएका छन् । यहाँको साग जैविक र स्वादिलो हुने हुँदा उपभोक्ताको पनि रोजाइमा पर्ने गरेको छ । अन्य तरकारी बालीको तुलनामा सागखेतीलाई त्यहाँका किसानले प्राथमिकता दिने गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस